काठमाडौं – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि अघिको श्रद्धाञ्जली समारोहमा उनका छोरा मोज्तबा खामेनी अनुपस्थित रहेपछि त्यसबारे विभिन्न अड्कलबाजी सुरु भएको छ । आइतबार आयोजित शोक सभामा अली खामेनीका अन्य तीन छोरा– मसुद, मोस्तफा र मेइसाम उपस्थित थिए । कार्यक्रममा राष्ट्रपति मसुद पेजेसकियान, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख अहमद वहिदीलगायत उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो । तर उत्तराधिकारी छोरा मोज्तबा खामेनी बुवाको श्रद्धाञ्जली समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अनुमान जारी छ । उनी मार्चको सुरुतिर सर्वोच्च नेताको जिम्मेवारीमा नियुक्त भएपछि सार्वजनिक रूपमा देखिएका छैनन् । उनका पिता मारिएका अमेरिकी–इजरायली हवाई आक्रमणमै उनी पनि घाइते भएको हुन सक्ने भन्ने हल्ला पनि फैलिएको छ । अली खामेनीले सन् १९८९ देखि फेब्रुअरी अन्तिम सातामा मृत्यु हुनुअघिसम्म इरानको सर्वोच्च नेताका रूपमा शासन गरेका थिए ।
अनुपस्थितिको कारणबारे अड्कलबाजी:
मोज्तबा खामेनीको अनुपस्थितिबारे इरानले कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सुरक्षा जोखिम र उनी आक्रमणमा घाइते भएको सम्भावनालाई प्रमुख कारणका रूपमा उल्लेख गरेका छन् । रोयटर्स, अल जजिरा, फाइनान्सियल टाइम्स लगायतका अनलाइनहरुले मोज्तबाको अनुपस्थितिको मुख्य कारण सुरक्षा भएको बताएका छन् । यी रिपोर्टहरूका अनुसार इजरायलले उनलाई पनि सम्भावित निशाना बनाउन सक्ने जोखिमका कारण सुरक्षा निकायले सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिएको हुन सक्छ । रोयटर्सले मोज्तबा अमेरिकी–इजरायली आक्रमणमा पर्दा अनुहार तथा खुट्टामा चोट लागेको र गम्भीर घाइते भएको हुनसक्ने भनेर विभिन्न स्रोतहरूका आधारमा समाचार लेखेको छ । युरो न्युजले उनी सर्वोच्च नेता नियुक्त भएयता कुनै सार्वजनिक कार्यक्रममा नदेखिनुलाई केही विश्लेषकले यसलाई सुरक्षा तथा सत्ता हस्तान्तरणको संवेदनशील अवस्थासँग जोडेर हेरेको जनाएको छ ।
शताब्दीकै सबैभन्दा ठूलो अन्त्येष्टि:
उनको औपचारिक अन्त्येष्टि शुक्रबारदेखि सुरु भएको हो । आगामी एक सातासम्म इरान र इराकका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ । इरानी अधिकारीहरूका अनुसार १ करोड २० लाखदेखि २ करोड मानिससम्म अन्त्येष्टिमा सहभागी हुने अनुमान गरिएको छ । इरान सरकारले यसलाई ‘शताब्दीकै सबैभन्दा ठूलो अन्त्येष्टि’ भनेर वर्णन गरेको छ । खामेनीको पार्थिव शरीर हाल तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरमा राखिएको छ । त्यहाँ ९७ वर्षीय वरिष्ठ शिया धर्मगुरु जाफर सोभानीले अन्तिम प्रार्थना सञ्चालन गरेका छन् । उनी कोम सहरका धार्मिक शिक्षालयमा अध्यापन गराउने प्रतिष्ठित विद्वान् हुन् । आइतबार इरानभर सार्वजनिक बिदा दिइएको थियो । सोही दिन साँझ पार्थिव शरीरलाई ग्रान्ड मोसल्लाबाट बाहिर निकालेर सोमबार तेहरानमा विशाल शवयात्रा निकाल्ने कार्यक्रम छ । अन्त्येष्टिका सम्पूर्ण कार्यक्रम कडा सुरक्षा व्यवस्थासहित पूर्वनिर्धारित रूपमा सञ्चालन भइरहेका छन् । मोज्तबा खामेनीको अनुपस्थिति भने इजरायलले उनीमाथि पनि आक्रमण गर्न सक्ने आशंकाबीच अर्थपूर्ण रूपमा हेरिएको छ ।
डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्ति:
इरान र इजरायलबीच भएको युद्धविराम हाल कायम रहेको छ । स्थायी शान्ति सम्झौताका लागि वार्ता जारी रहे पनि दुवै पक्षले आवश्यक परे फेरि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । समाचार वेबसाइट एक्सियोसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अन्त्येष्टि कार्यक्रमका कारण शान्ति वार्ता एक साताका लागि स्थगित गरिएको बताएका थिए । उक्त समाचारअनुसार ट्रम्पले अन्त्येष्टिमा इरानका अधिकांश शीर्ष अधिकारीहरू एकै ठाउँमा उपस्थित भएकाले ‘एकै प्रहारमा सबैलाई समाप्त पार्न सकिने’ टिप्पणी गरेका थिए । तर उनले ‘त्यसो गरे वार्ता गर्न कोही बाँकी नरहने भएकाले त्यसो नगर्ने’ पनि बताएका थिए । ट्रम्पले इरानी नागरिकहरू खामेनीका लागि रोइरहेको देख्दा आफू अचम्ममा परेको प्रतिक्रिया पनि दिएका थिए । ‘मलाई त मानिसहरूले उनलाई घृणा गर्छन् भन्ने लागेको थियो । सायद ती नक्कली आँसु हुन्,’ ट्रम्पले भनेका छन् ।साभार : अखप












