जनकपुरधाम – सुनसरी घटनापश्चात् मधेश अशान्त छ । शुक्रबार आठ वटै जिल्लाका विभिन्न स्थानमा हिन्दुवादी संघ-संगठनले प्रदर्शन गरेका छन् । बिहानैदेखि सप्तरीको राजविराज लगायत विभिन्न स्थान, सिरहाको गोलबजार र लहान, धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मलंगवा र बरहथवा, रौतहट, बारा तथा पर्साको वीरगञ्जमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । त्यस क्रममा छिटफुट सामान्य घटनाबाहेक कुनै अप्रिय घटना नभएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेशको राजधानी जनकपुरधाममा बिहीबार दिउँसो साढे ३ बजेदेखि लगाइएको कर्फ्यू अझै जारी छ । चारवटै सुरक्षा निकाय सडकमा परिचालित हुँदा जनकपुरधामका नागरिक घरमै बन्धकजस्तै बनेका छन् । विभिन्न कामले सडकमा निस्केका केही नागरिकलाई नेपाली सेना र प्रहरीले कारबाहीस्वरूप कान समातेर उठबस गराउने, कसरत गराउने लगायतका कार्य गरेका छन् । उद्योग, बजार तथा व्यवसाय पूर्णरूपमा बन्द छन् । यसको प्रभाव धनुषा जिल्लाभर परेको छ । यस्तै, सिरहाको गोलबजार र लहानमा पनि कर्फ्यू जारी छ । सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा समेत कर्फ्यू लागु गरिएको छ । बिहीबार राति १० बजेदेखि बोदेबरसाइन क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो भने आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यू लागू गरिएको छ । अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । वीरगञ्जमा भने पुन: निषेधाज्ञा जारी गरिएको छ । जनकपुरधाममा जारी कर्फ्यू हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वपक्षीय छलफलसमेत गरेको छ । छलफलबाट चारबुँदे निर्णय गरिएको छ । प्रशासनले भोलि बिहान सद्भाव र्याली निकाल्ने र त्यसपछि कर्फ्यू हटाउने तयारी गरेको छ । प्रतिनिधिसभा सदस्य, सुरक्षा निकाय, दुवै समुदायका धर्मगुरु तथा हिन्दु संघ–संगठनलगायतको सर्वपक्षीय बैठकले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । साथै, नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न आवश्यक पहल र सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरिएको छ । सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने गतिविधिलाई निरुत्साहित गर्दै आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने निर्णय पनि गरिएको छ । सिरहामा बिहीबार प्रहरीको गोली लागेर १६ वर्षीय किशोर गणेश यादवको मृत्यु भएपछि अवस्था झन् उग्र बनेको छ । औरही गाउँपालिका–२ तुलसियाहीका मृतक यादवको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेर परिवारसँग भेट गरेको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आफूले संसद् र सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता उनले जनाएका छन् । गृहमन्त्री सुधन गुरुङ मृतक परिवारसँग भेट्न आउने भन्ने खबर फैलिएपछि प्रदर्शन झन् उग्र बनेको थियो । स्थानीयले प्रदर्शन चर्काएका थिए । यद्यपि, गृहमन्त्री भने अहिलेसम्म मृतक परिवारको घर पुग्न सकेका छैनन् । सिरहाको मिर्चैयामा आज सामाजिक सद्भाव र्याली निकालिएको छ । मिर्चैयामा सर्वदलीय बैठक बसेपछि निकालिएको उक्त र्यालीमा ‘हिन्दु–मुस्लिम एक हौं, बौद्ध, सिख–इसाई आपसमा भाइ–भाइ’ भन्ने नारा लगाउँदै नगरका विभिन्न चोकहरूको परिक्रमा गरिएको थियो ।साभार : अखप












