लखन्देहीको बाँध भत्किँदा सर्लाहीमा १५ सय बिघा धानखेत डुबानमा…..

सर्लाही –      लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेको छ। भर्खरै रोपिएको धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् । सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो । कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र वडा नं. ५ भाडसरमा ३ सय बिघा धानखेत डुबानमा परेको छ । बाढीले खेतमात्र होइन, केही घर र गोठसमेत प्रभावित भएका छन् । चार दिनदेखि डुबान रहेकाले जनजीवन कष्टकर बनेको छ । भाडसरका मुमताज मिकरानीले बस्ती र खेत लगातार डुबानमा रहेकाले दैनिक जीवन प्रभावित भएको बताए । स्थानीय मोहम्मद समिम अख्तरका अनुसार सदरमुकाम मलङ्गवा जोड्ने सडक समेत प्रभावित भएको छ । ‘बाटो माथिबाटै पानी बगिरहेको छ । भारतीय बजार जान पनि कठिन छ,’ उनले भने । बाढीले कटान गरेको छपकैयामा बिहीबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा अस्थायी तटबन्ध निर्माणको काम थालेका छन् । बोरामा बालुवा भरेर भत्किएको बाँध थुन्ने प्रयास गरिएको छ । छपकैयाका किसान मोहम्मद इलयास खानले आठ कठ्ठामा रोपेको धान डुबानमा परेको सुनाए । ‘भर्खरै रोपेको धान पानीमुनि छ । यसपालि धान नै नहुने हो कि भन्ने डर छ,’ उनले भने, ‘दश वर्षदेखि यही समस्या भोगिरहेका छौं । खेतमात्र होइन, घरसमेत डुबानमा पर्छ । अर्का किसान रामकिशुन यादव दीर्घकालीन समाधानका स्थायी तटबन्ध निर्माण गर्नुपर्ने बताउँछन् । ‘गत वर्ष पनि बाँध भत्किँदा डेढ बिघा धानबाली नष्ट भयो । आश्वासन मात्रै पाइयो, क्षतिपूर्ति पाएन,’ उनले भने । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले लखन्देहीको कटान र डुबान नयाँ समस्या नभएको बताए । ‘हरेक वर्ष कुनै न कुनै ठाउँमा कटान हुन्छ । गाउँपालिकाले आफ्नो क्षमताअनुसार नियन्त्रणका काम गरेको छ,’ उनले भने, ‘तर दीर्घकालीन समाधानका लागि ठूलो बजेट आवश्यक छ । त्यसका लागि सम्बन्धित निकायसँग पहल गरिरहेका छौं । उनका अनुसार बाँध भत्किएलगत्तै नियन्त्रणको प्रयास थालिएको छ र सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा तटबन्ध निर्माण भइरहेको छ । मलङ्गवा–५ भाडसरका श्याम रायले बाँध निर्माण भए पनि आफूहरूले कहिल्यै सुरक्षित महसुस गर्न नसकेको बताए । ‘१५ वर्षदेखि बाँध भत्किने र गाउँ डुबानमा पर्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘खेतीपातीमा पटक–पटक क्षति हुँदा उत्पादनसमेत घट्दै गएको छ । अर्का स्थानीय जमशेद मियाँले भने, ‘पानी निकासको उचित व्यवस्था नहुँदा समस्या दोहोरिरहन्छ। यति ठूलो डुबान हुँदा पनि सरोकारवाला निकायको उपस्थिति देखिएको छैन । मलङ्गवा नगरपालिका–५ का वडाध्यक्ष मोहम्मद जुल्फकार अलीका अनुसार वडामा मात्र तीन सय बिघाभन्दा बढी खेत डुबानमा परेको छ । त्यस्तै, वडा नं. ६ का वडाध्यक्ष राम कैलाश यादवले पाँच सय बिघाभन्दा बढी खेत प्रभावित भएको जानकारी दिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार