काठमाडौं – भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । प्रधानसेनापति सेठ आइतबार काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका सेठको भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई निरन्तरता दिने र द्विपक्षीय रक्षा सहकार्यलाई थप बलियो बनाउने भ्रमणका रूपमा हेरिएको छ । भारतको रक्षा मन्त्रालयले पनि भ्रमणको उद्देश्य नेपाल–भारतबीचको रक्षा सहकार्य तथा सैन्य–सैन्य सम्बन्धलाई थप सुदृढ गर्नु रहेको जनाएको छ । प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट नेपाल आउने सेठ अहिलेसम्मकै वरिष्ठ अधिकारी हुन् । उनले भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन् । यही कारण उनको भ्रमणलाई कूटनीतिक तथा सामरिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । काठमाडौं बसाइँका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका बालेन शाहसँग शिष्टाचार भेट गर्ने तयारी छ । त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग उनले द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तामा नेपाल–भारत सैन्य सम्बन्ध, आपसी सहयोग तथा दुई देशका सेनाबीच हुँदै आएको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ । त्यसपछि जंगीअड्डामा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
सात दशक पुरानो सैन्य परम्परा:
भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको र नेपाली प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि सुरु भएको हो । दुई देशका सेनाबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको प्रतीकका रूपमा यो परम्परालाई लिइन्छ । नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन् । २०८१ मंसिर २७ गते नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । जनरल धिरज सेठले ३० जुन २०२६ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी भारतीय सेनाको उपप्रमुखका रूपमा कार्यरत थिए । सेठको नेपाल भ्रमण तीन दिनको रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र सैन्य छलफलले नेपाल–भारतबीचको लामो समयदेखिको रक्षा सहकार्यलाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ ।साभार : अखप











