कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा…..

काठमाडौं –     पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्लाका केही ठाउँका साथै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ । कञ्चनपुरमा शनिबारदेखि बिहानसम्म वर्षा भइरहेको छ । यस्तै, धादिङ र गोरखाको सीमा क्षेत्रमा पनि धेरै भारी वर्षा भएको छ । आरुघाटको स्टेशनमा १२४.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। सोहो अवधिमा सिन्धुपोल्चोकमा १२३.२ र अर्घाखाँची ११५.२ मिलिमिटर वर्षा भएको । पछिल्ला केही दिन सिन्धुपाल्चोकमा निरन्तर मध्यमदेखि धेरै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा लुम्बिनीकाे केही जिल्लाका साथै गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ । अन्य ठाउँमा मध्यमदेखि सामान्य वर्षा मापन भएको विभागको तथ्यांकमा उल्लेख छ । बिहान भने यी क्षेत्रमा वर्षा कम हुँदै गएको छ । मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । पछिल्ला २४ घण्टामा धेरै वर्षा भएका जिल्लामा रहेका नदी तथा खोलामा बाढीको जोखिम पनि बढेको छ । कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेको विभागले जनाएको छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार