ओलीको बचाउमा बादलको छुट्टै प्रतिवेदन…..

काठमाडौं –     नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको अलग–अलग प्रतिवेदन पेश हुने भएको छ । देशभरका नेता–कार्यकर्ताहरुको सुझाव समेटेर महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष थापाले ३९ पृष्ठ लामो छुट्टै प्रतिवेदन लेखेका छन् । उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको पक्षमा थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन् । सात प्रदेश र अरु गैरभौगोलिक कमिटीहरू सहित १२ स्थानमा संकलित सुझावलाई आधार मानेर महासचिवले प्रतिवेदन तयार पार्नुभएको छ । त्यही प्रतिवेदनको एउटा च्याप्टरलाई टेकेर उपाध्यक्षले छुट्टै दस्तावेज पेश गर्ने तयारी रहेको बुझिन्छ,’ स्रोत भन्छ । एमाले संकटमा पर्नुको नैतिक जिम्मेवारी लिएर नेतृत्वबाट ओली हट्नुपर्ने निष्कर्ष निकालिएको महासचिव पोखरेलको प्रतिवेदन यसअघि अनलाइनखबरले प्रकाशित गरिसकेको छ । उनको प्रतिवेदनलाई काउण्टर दिनेगरी थापाले लेखेको प्रतिवेदन पनि अनलाइनखबरले प्राप्त गरेको छ । कार्यदलका संयोजक समेत रहेका थापाले तयार पारेको प्रतिवेदनको निष्कर्ष छ– ओलीले अध्यक्ष छाड्न मिल्दैन । थापाले महासचिव पोखरेलको प्रतिवेदनलाई नेकपाकालीन अन्तरसंघर्षसँग तुलना गरेका छन् । ‘..२०७७ सालमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरूले लगाएको १९ पृष्ठ लामो आरोपपत्रकै झल्को दिनेगरी पुनर्गठनका लागि भनेर आज पार्टी अध्यक्षलाई अपदस्त गर्न प्रस्तुत गरिएका यी कुतर्क र गलत विश्लेषणहरूका आधारमा सार्वजनिक बहस सिर्जना गर्न खोज्नु गलत हो,’ थापाले लेखेका छन् । २५ बुँदामा तयार प्रतिवेदनलाई थापाले पुरक प्रस्तावको शैलीमा लेखेका छन् । महासचिव पोखरेलकै प्रस्तावहरूको खण्डनमा लेखिएको प्रतिवेदनमा थापाले पार्टी काम र जनसंगठनहरूबारे गरिएको विश्लेषण तथा योजना स्वीकारेर जाने उल्लेख गरेका छन् । पार्टी र जनसंगठनको काम सञ्चालन, सुधार र परिचालनका सम्बन्धमा मस्यौदा प्रतिवेदनमा प्रस्तुत सुझावहरू महत्वपूर्ण छन्,’ थापाले लेखेका छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार