रसुवा – भोटेकोशी बाढीले पक्की पुल बगाएको फलाखु खोलामा फड्के (अस्थायी पुल) सञ्चालनमा ल्याइएको छ । उत्तरगया गाउँपालिका–५, बेत्रावतीस्थित खोलामा फड्के बनेसँगै रसुवा र नुवाकोट पैदल यात्राबाट जोडिएको छ । बाढीले यहाँको पुल बगाएपछि तीन सातासम्म खोलो वारपार गर्न सक्ने स्थिति थिएन । तर, सुरक्षाकर्मी र स्थानीयले फड्के बनाएपछि बाढी प्रभावितहरूलाई ठूलो राहत मिलेको छ । ‘बाढीपछि दुईतिर भएका परिवारका सदस्यहरू बीच भेटघाट गर्न यो फड्केले ठूलो सहयोग गरेको छ’, स्थानीय अनन्तप्रसाद न्यौपानेले भने । उनका अनुसार होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारहरू फड्के बनेपछि त्यसैमाथि आवतजावत गरिरहेका छन् । सँगै, रसुवावासीलाई राजधानी काठमाडौं सहित अन्यत्र जान पनि सजिलो भएको छ । बेत्रावतीको यो फड्केबाट फलाखु खोला तरेपछि केही किलोमिटर हिंड्दा पृथ्वीराजमार्ग भेटिन्छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालका अनुसार, दुई घण्टामा त्रिवेणी नै पुगिन्छ । उनका अनुसार ठूलो संख्यामा मानिसहरूलाई यो फड्केले राहत दिएको छ । ‘हिंडेर जंगलको बाटो भएर पनि यो खोला तर्दै आफन्तहरूलाई भेट्ने काम भइरहेको थियो । फड्के बनेपछि धेरै सजिलो भयो’, अर्याल भन्छन् । फड्के बनाउन स्थानीय गणेश श्रेष्ठ, दिलकुमार श्रेष्ठ सहितले अग्रसरता लिएका थिए भने गाउँपालिकाले आवश्यक सहयोग गरेको थियो । बाँस र काठ जोडेर बनेको यो फड्के एकातिर घरको भग्नावशेषमा अड्याइएको छ भने बगरतिर तारजालीको पर्खाल बनाइएको छ । स्थानीयका अनुसार, यो खोलामा केही दिन अगाडि काठ मात्र जोडेर फड्के बनाइएको थियो । तर सञ्चालन भएकै रात बाढीले बगाएर लग्यो । यसपछि तुलनात्मक बलियो स्थानमा यो फड्के बनाइएको छ । यो फड्केबाट रसुवा जान पनि सजिलो भएको छ । तर त्रिशूली नदी वारपार गर्नलाई अहिलेसम्म बेलिब्रिजको माग स्थानीयले गरिरहेका छन् ।साभार : अखप












