काठमाडौं – कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीका लागि आकांक्षा राख्नेको संख्या झण्डै एक दर्जन पुगेको छ । १८ असोजदेखि सुरु हुने महाधिवेशनमा वर्तमान तथा पूर्वपदाधिकारीदेखि वर्तमान र पूर्वकेन्द्रीय सदस्यसम्मले महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका छन् । जिल्ला–जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्दै गर्दा नेताहरू आन्तरिक तयारीमा जुटेका छन् । महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् । बहालवाला महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले १५ औं महाधिवेशनबाट दोहोरिने चाहना राखेका छन् । महामन्त्री पौडेलले आसन्न महाधिवेशनमा आफूलाई महामन्त्रीकै जिम्मेवारीमा प्रस्तुत गर्ने बताए । ‘सभापति गगन थापाकै नेतृत्वमा कांग्रेसलाई परिवर्तन गर्न खोजेका हौं,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँको महामन्त्रीकै जिम्मेवारीमा रहेर आफूलाई प्रस्तुत गर्ने कोसिस हुन्छ । अर्का महामन्त्री घिमिरेले पनि आफूले महामन्त्रीका लागि तयारी गरिरहेको प्रतिक्रिया दिए । ‘अहिलेकै पोजिसन सोचेको छु । यो स्वाभाविक चाहना पनि हो,’ उनले भने, ‘चुनाव भयो भने महामन्त्रीमै उठ्छु । सर्वसम्मत भयो भने सल्लाह गरेर हिँड्छु । पार्टीको आन्तरिक प्रणाली, मूल्यांकन पद्दति, निर्वाचन र निर्णय प्रक्रियामा सुधार ल्याउने, पार्टीप्रति आमनागरिकको विश्वास बढाउने विषयलाई विशेष महाधिवेशनमा नाराका रुपमा अघि बढाइएको स्मरण गर्दै घिमिरेले एक कार्यकाल काम गर्ने आफ्नो चाहना रहेको सुनाए । महामन्त्री पौडेल १४ औं महाधिवेशनमा पनि महामन्त्रीका उम्मेदवार थिए । यस्तै अर्का महामन्त्री घिमिरे उक्त महाधिवेशनमा कोशी प्रदेश सभापतिका उम्मेदवार थिए । उनीहरू दुवै जना पराजित भएका थिए । कांग्रेस प्रवक्ता देवराज चालिसे, सहमहामन्त्रीहरू उदयशम्शेर राणा, प्रकाश रसाइली ‘स्नेही’, डा. डिला संग्रौलाले पनि महामन्त्रीमा चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् । चारै नेताले अनलाइनखबरसँगको कुराकानीमा आफूलाई महामन्त्रीको आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् । तर, सभापति थापासँगको सर–सल्लाहअनुसार उम्मेदवारी निश्चित हुनेमा उनीहरू एक स्वर सुनिन्छन् । १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित नेता जीवन परियारसँगै पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेका नेताहरू नैनसिंह महर, रामहरि खतिवडा, आङ्गेलु शेर्पाले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेको हुँ । सहमहामन्त्री भइसकेँ,’ नेता परियारले भने, ‘यसपालि महामन्त्रीमा प्रतिष्पर्धा गर्ने हो । नेता महरले महामन्त्रीको तयारीका लागि जिल्ला दौडाहा गरिरहेका छन् । क्षेत्रीय अधिवेशनका लागि गृहजिल्ला ओखलढुंगामा रहेका नेता खतिवडाले पनि आफू महामन्त्रीको आकांक्षी भएको बताएका छन् । ‘अहिले क्षेत्रीय अधिवेशन चलिरहेको छ । म जिल्लामा छु,’ उनले भने, ‘पदाधिकारीमा मेरो दाबी रहन्छ । महामन्त्रीको आकांक्षी हुँ । कांग्रेसका कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने अनलाइनखबरसँग बताए । कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी रोल्पाबाट आइतबार महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भइसकेका छन् । म महामन्त्रीमा उम्मेदवारी दिन्छु,’ लुम्बिनी सभापति पुनले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट आफू काठमाडौं आइसकेको र थप छलफलहरू भइरहेको छ ।’ उनले कांग्रेसको नेतृत्वमा रहेर काम गर्ने इच्छा रहेको र नेता कार्यकर्ताहरूले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे । सभापति पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा खटिने नेतामध्यमा पर्छन् । यस्तै, केन्द्रीय सदस्य मधु आचार्य पनि महामन्त्रीमा आकांक्षी हुन् । नीति प्रतिष्ठानका उपप्रमुख समेत रहेका आचार्यले विशेष महाधिवेशनको अगुवाइ गरेका थिए ।साभार : अखप












