जताततै एनजीओ, कतैकतै सरकार…..

धुन्चे (रसुवा) –      रसुवाको उत्तरगयास्थित नीलकण्ठ विद्यालयको होस्टेलमा गैरसरकारी संस्था सानो पाइलाले दैनिक दुई छाक खाना र दुई छाक खाजा खुवाउन थालेको एक महिना नाघेको छ। संख्या थपघट भइरहेपनि ‍औसतमा ५० जनालाई सानो पाइलाले खाना/खाजा दिइरहेको छ । बाढी गएको पाँचौं दिनमा त्यहाँ पुगेको सानो पाइलाको सहायता लिइरहेकी रन्जिना तामाङ होस्टेलमा खानेबस्ने सुविधामा राम्रै भएको बताउँछिन्। चार महिनाको काखे नानी च्यापेर बसेकी उनी बरू सरकारसँग प्रश्न गर्छिन्, ‘यसरी त कतिञ्जेल बस्ने हो र ? कुनै न कुनै दिन टहरामा भएपनि त जानुपर्ला। एक महिना बित्न लाग्दा पनि सरकारको तर्फबाट कोही आएका छैनन्। असोजको पहिलो साता अनलाइनखबरको टोली होल्डिङ सेन्टर बनेको होस्टेलमा पुग्दा सानो पाइलाको तर्फबाट संयोजन गरिरहेकी शैलेस्वरी सिंहलाई प्रश्न गरेको थियो- ‘तपाईंहरू यसरी कहिलेसम्म होल्डिङ सेन्टर सञ्चालन गरेर खाना खुवाइ रहने हो ? उनले भनिन्, ‘जबसम्म यहाँ बसिरहेकाहरूलाई सरकारले व्यवस्थापन गर्दैन तबसम्म। हामी उहाँहरूलाई लावारिस छाडेर जान सक्दैनौं। उत्तरगयाकै बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र (सिड्स) को भवनमा रहेको होल्डिङ सेन्टरमा पनि सानो पाइलाजस्तै ‘प्लान इन्टरनेश्नल’ सक्रिय छ। प्लानले खानबस्न सहजीकरण त गरिरहेको छ नै, मानसिक उपचार पनि दिइरहेको छ। उत्तरगया गाउँपालिकाका कार्यपालिका सदस्य पूर्ण घले (आफैं पनि त्यही होल्डिङ सेन्टरमा शरण लिएका छन्) एनजीओहरू सक्रियता राम्रै भएपनि सरकारको सक्रियतामा ढिलाइ भइरहेको बताउँछन्। बाढीको एक महिनासम्म पनि सरकारी र गैरसरकारी क्षेत्रकै भर पर्नुपरेको छ। यी संस्थाहरूले त सहयोग गरिरहेकै छन्, घले भन्छन्, ‘तर मान्छेहरू अब गुमेका आफन्तको किरिया गर्न चाहन्छन्। अस्थायी भएपनि आफ्नै घर खोजिरहेका छन्। यो सब त यी संस्थाहरूले दिनसक्दैन नि। बाढी प्रभावित क्षेत्रमा केवल सानो पाइला र प्लान इन्टरनेशनलको उपस्थिति मात्रै छैन। प्रत्येक होल्डिङ सेन्टरको मूल ढोकामा अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको ब्यानर झुन्डिएको छ। भित्र संस्थाकै टिसर्ट र जर्सीमा युवाहरू खटिरहेको भेटिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार बाढी प्रभावित क्षेत्रमा हाल ६१ वटा सरकारी र गैरसरकारी संस्था बाढी प्रभावित क्षेत्रमा सक्रिय छन्। यी संस्थाहरूले बाँडेका राहत सामग्री १५ पालिकाका एक लाख ८८ हजार ६६२ जनाले प्राप्त गरेका छन्।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार