सुक तुम्रोकआस्फोर्ड, केन्ट, बेलायत।
किरात याक्थुङ (लिम्बू) समुदायको दोस्रो ठूलो सांस्कृतिक पर्व बलिहाङ तङ्नाम बेलायतको केन्टस्थित आस्फोर्डमा भव्य रूपमा मनाइएको छ। किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङको आयोजनामा सन् २०२६ नोभेम्बर १४ शनिबारका दिन क्राइस्ट चर्च हल, बीभर रोड, आस्फोर्डमा उक्त कार्यक्रम सम्पन्न भएको हो। आयोजक समितिका अध्यक्ष मनमाया नेम्बाङको सभाध्यक्षता तथा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष दिपेन्द्र यक्सोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरेर गरिएको थियो।
उद्घाटनपश्चात् कलाकार शिखर सम्बाहाम्फे र राजेन्द्र नेम्बाङको टोलीले के च्याब्रुङ बजाएर अतिथिहरू तथा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए। विदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपालप्रतिको सम्मान र सम्झनालाई आत्मसात् गर्दै राष्ट्रिय गानसमेत प्रस्तुत गरिएको थियो।
लिम्बू याक्थुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको बलिहाङ तङ्नामलाई प्रवासमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कार्यसमितिका सदस्यहरूले आ–आफ्नो घरबाट विभिन्न मौलिक परिकारहरू तयार गरी ल्याएर उपस्थित अतिथि तथा सहभागीहरूलाई खुवाएका थिए। यसले नेपाली मौलिक खानपान, आत्मीयता र सामुदायिक एकतालाई थप प्रगाढ बनाएको थियो।
कार्यक्रममा बेलायतका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्दै आएका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसै अवसरमा नेपालबाट बेलायत भ्रमणमा आउनुभएकी पत्रकार भूमिका फियाकलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। त्यसैगरी नेपालबाट बेलायत आएका कलाकारहरू राजेन्द्र केरुङ, लक्ष्मण चोङबाङ र दिपा सुहाङको समेत उपस्थिति रहेको थियो। स्थानीय कलाकार डम्बर साबाले गीत,गायिका धनु याख्खाले पालाम प्रस्तुत गरेका थिए भने बाल कलाकार ओइसुम सावाले नृत्य प्रस्तुत गरेर कार्यक्रममा थप रौनकता थपेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र यक्सोले शुभकामना मन्तव्य राख्दै याक्थुङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानलाई प्रवासमा पनि संरक्षण तथा प्रवर्द्धन गर्दै आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने महत्त्वमा जोड दिएका थिए। कार्यक्रमको औपचारिक सञ्चालनका क्रममा महासचिव शुभ नेम्बाङले हेल्थ एन्ड सेफ्टी ब्रिफिङ प्रस्तुत गरेकी थिइन्। अन्त्यमा कार्यक्रमकी सभाध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष मनमाया नेम्बाङले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, कलाकार, सहयोगी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक चाडपर्व, भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले याक्थुङ समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाएको छ।












