दिल्लीमा हुनेछन् प्रधानमन्त्रीका ३ बैठक…..

काठमाडौं –     भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह तीन वटा मात्रै औपचारिक बैठकमा सहभागी हुनेछन् । भारतमा कुल साढे २५ घण्टा मात्रै रहने प्रधानमन्त्री शाहले भ्रमण क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यस्तै उनले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको बैठक गर्नेछन् । त्यसअतिरिक्त विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन् । त्यसबाहेक प्रधानमन्त्री शाहले अन्य बैठक तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने उच्च सरकारी स्रोतले अनलाइनखबरलाई जानकारी दियो । ६ मंसिर अपराह्न नयाँदिल्ली पुग्ने प्रधानमन्त्री शाह ‘ताजमहल होटल’ मा बस्नेछन् । त्यस दिन उनका कुनै पनि औपचारिक कार्यक्रम तय भएको छैन । साेही साँझ उनी नेपाली राजदूतावासमा जाने सम्भावना छ, तर कार्यक्रम तय भने भइनसकेको उच्च सरकारी स्रोतले बतायो । ७ मंसिरमा प्रधानमन्त्री शाहलाई राष्ट्रपति कार्यालयमा ‘गार्ड अफ अनर’ दिइने छ । त्यससँगै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै (वान-अन-वान) वार्ता हुने पनि स्रोतले जानकारी दियो । त्यसपछि दुई देशका प्रधानमन्त्रीले प्रतिनिधिमण्डलस्तरको बैठक गर्नेछन् । दुई देशबीच हुने उद्घाटन तथा सम्झौताहरू सोही बैठक क्रममा हुने स्रोतले जानकारी दिएको छ । सोही क्रममा कुन-कुन विषयमा सम्झौता हुने भन्ने विषय अहिलेसम्म टुंगो लागिनसकेको स्रोतको भनाइ छ । भारतले नेपाललाई महेन्द्रनगरबाट आवतजावत गर्न मिल्ने गरी हवाई रुट प्रदान गर्ने सम्झौता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियाे । यसका साथै दुई देशका प्रधानमन्त्रीले भारतको अयोध्यादेखि जनकपुर आउने रेलको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । साताको एक पटक यात्रा गर्ने गरी अयोध्या-जनकपुर रेल सञ्चालनका लागि भारतले अनुमति दिइसकेको छ । प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा नेपाल-भारतबीच लामो समयदेखि थाती विषयहरू नै एजेन्डाका रूपमा रहने सरकारी स्रोतहरूले जनाएका छन् । सरकारी स्रोतहरूका अनुसार प्रधानमन्त्री ६ मंसिर दिउँसाे १:२५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नेछन् । त्यस्तै उनी ७ मंसिर अपराह्न ४:२० बजेको नेपाल एयरलाइन्सकै नियमित उडानबाट नेपाल फर्कने पनि स्रोतले जानकारी दियो । नेपाली समय अनुसार ६ मंसिर करिब ३ बजे दिल्ली पुग्ने प्रधानमन्त्री भोलिपल्ट साढे ४ बजे स्वदेश फर्कंदा करिब साढे २५ घण्टा दिल्लीमा बिताउने छन् । यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने भन्ने चर्चा थियो । तर, उनको भ्रमण दुई दिनको मात्रै हुने र समयका हिसाबले २५ घण्टाको मात्रै हुने गरी तय भएको उच्च सरकारी स्रोतले जानकारी दियो । नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए । तर, त्यो घोषणा विपरीत उनी गत सेप्टेम्बर तेस्रो साता संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्न अमेरिकाको न्युयोर्क गएका थिए । त्यहाँ पनि उनी महासभा सम्बोधन गरेलगत्तै फर्केका थिए । त्यही परम्परा कायम राख्दै प्रधानमन्त्री शाह भारतमा पनि २५ घण्टा मात्रै रहने गरी भ्रमण तय भएको हो । प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा नेपाल र भारतबीच लामो समयदेखि थाती विषयहरू नै एजेन्डाका रूपमा रहने सरकारी स्रोतहरूले जनाएका छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार