युरोपभर एक महिनामा आठ हजारभन्दा बढी बम राखिएको झुटो धम्की…..

बेलायत –          युरोपका विभिन्न देशमा एक महिनाको अवधिमा आठ हजारभन्दा बढी झुटा बम धम्कीका घटना सार्वजनिक भएका छन् । विद्यालय, विमानस्थल, सञ्चारमाध्यम, विमान सेवा तथा विभिन्न व्यावसायिक संस्थालाई लक्षित गरी यस्ता धम्की पठाइएको रोयटर्सले जनाएको छ । रोयटर्सले युरोपेली अधिकारीहरूको विवरण, सञ्चारमाध्यमका समाचार र साइबर सुरक्षा कम्पनीहरूको तथ्यांक विश्लेषण गर्दा पछिल्लो एक महिनामा आठ हजारभन्दा बढी यस्ता घटना भएको पत्ता लगाएको हो । बेलायत, आयरल्यान्ड र इटालीका हजारौँ विद्यालय मुख्य निशानामा परेका छन् । अक्टोबर १९ मा उत्तरी आयरल्यान्डको बेलफास्टस्थित सेन्ट जोन द ब्याप्टिस्ट प्राथमिक विद्यालयसहित करिब ३०० विद्यालयमा बम राखिएको भन्दै एउटै प्रकृतिका इमेल पठाइएको थियो । ती सन्देशमा ‘मृत्यु छेउमै छ’ भन्ने धम्कीपूर्ण वाक्यसमेत प्रयोग गरिएको थियो । नोभेम्बरको सुरुदेखि धम्कीका घटना थप फैलिएका थिए । नोभेम्बर २ देखि ६ सम्म मात्रै १५ वटा विमान सेवा कम्पनीका ५० भन्दा बढी उडानमा बम राखिएको झुटो सूचना पुगेको थियो । यसका कारण विमानको मार्ग परिवर्तन, उडान रद्द तथा ढिलाइ भएका थिए । केही टेलिभिजन प्रसारणसमेत प्रभावित भए । नोभेम्बर ११ मा इटालीका करिब ६ हजार ३०० विद्यालयमा बम राखिएको भन्दै इमेल पठाइएको थियो । त्यस्तै, स्कटल्यान्डका करिब एक हजार, उत्तरी आयरल्यान्डका ३०० र आयरल्यान्डका करिब ३०० विद्यालयसमेत निशानामा परेका थिए । कतिपय विद्यालय खाली गराएर विद्यार्थीलाई घर पठाइएको थियो । यी घटनामा प्रयोग गरिएका इमेलमध्ये केहीमा समान भाषा र वितरण विधि भेटिएको छ । साइबर सुरक्षा कम्पनीहरूका अनुसार कम्तीमा चारवटा ह्याक गरिएका इमेल खाताबाट धम्कीपूर्ण सन्देश पठाइएको थियो । एउटा खातासमेत ताइवानका पूर्वविद्यार्थीको नाममा रहेको विश्वविद्यालयले जनाएको छ । युरोपेली अधिकारीहरूले यस अभियानमा विदेशी शक्तिको संलग्नता हुन सक्ने आशंका गरेका छन् । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले रुस वा अन्य देशबाट हस्तक्षेप भएको हुन सक्ने सम्भावना औँल्याएका छन् । युरोपेली प्रहरी संगठन (युरोपोल) ले धम्कीको स्रोत पहिचान गर्न अनुसन्धान गरिरहेको छ । तर, यी सबै घटनामा एउटै समूहको संलग्नता रहेको स्वतन्त्र पुष्टि भने भएको छैन । रुसी पक्षबाट सञ्चालित हुन सक्ने साइबर समूहहरूमाथि पनि विगतका यस्तै घटनाका आधारमा शंका गरिएको छ । यद्यपि, पछिल्लो अभियानमा रुसको प्रत्यक्ष संलग्नताको प्रमाण सार्वजनिक भएको छैन । झुटा धम्की भए पनि विद्यालय र विमानस्थलजस्ता संवेदनशील स्थानमा सुरक्षा जाँच, खाली गराउने प्रक्रिया र यातायात अवरोधका कारण ठूलो आर्थिक तथा सामाजिक असर परेको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार