उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै…..

काठमाडौं –      नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ । लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित पहिलो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेर फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यसअघि लिग चरणको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । तर, पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले उपाधि यात्रालाई कायम राख्यो । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । १० अंकसहित लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको टोली हो । यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो । त्यसैले यसपटक सुदूरपश्चिम लगातार तीन पटक फाइनल पुगेर पनि उपाधिविहीन बन्ने क्रम तोड्ने लक्ष्यमा हुनेछ । लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार