उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा

  बगैचा सम्बाददाता

केहि दिन अघि नेपाली कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीलाई यतिवेला चुनावी प्रचार सभामा सक्रियरूपमा देखिएका छन् । नवलपरासी १ का मतदाता चौधरीलाई नवलपरासी १ का कांग्रेस उम्मेदवार तथा पार्टी महामन्त्री डा. शशांक कोइराला सहभागी हुने सबैजसो चुनावी सभामा मुख्य वक्ताका रूपमा देखिन थालेका हुन । आर्थिक विकास र समृद्धि उपसमितिको केन्द्रीय संयोजक तोकिएका उनलाई पार्टीले आर्थिक एजेन्डाबारे मतदातालाई बुझाउने जिम्मेवारी दिएको एक नेताले जनकारी दिएका छन्। चौधरीले पार्टी प्रवेश गरेयताका दुई साताभित्र नवलपरासी, गोर्खा, लमजुङ, रामेछाप, संखुवासभालगायतका क्षेत्रमा भएका २१ सभामा मुख्य वक्ताका रूपमा बोलि सकेका छन् । उनी हेलिकप्टरमा कोइरालासँगै चुनाव प्रचारमा जाने गरेका छन् । चौधरी २०६४ सालमा एमालेबाट सभासद बनेका थिए । उनले २०४६ सालको परिवर्तनपछि कांग्रेसले लिएको खुला र उदार अर्थनीतिको आफू सूत्रधार रहेको बताउँदै चौधरीले त्यही अर्थनीतिले देश चलेको बताउने गरेका छन् । २०४६ देखि २०५१ सम्म देशले आर्थिक विकासमा ठूलो फडको मारेको र निजी क्षेत्रको सक्रियता एवं विदेशी लगानी एकै पटक भित्रिएको उनको दाबी छ । राजनीतिक परिवर्तनका आन्दोलन पूरा भएको भन्दै चौधरीले अब सबैको ध्यान आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनपर्ने बताएका छन् । सरकार र निजी क्षेत्रको हातेमालोबाट देश अघि बढाउनुपर्ने भन्दै उनले देशलाई समृद्धिमा लैजान कांग्रेसलाई जिताउन अपरिहार्य रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार