मुख्यमन्त्रीका लागि एमालेमा हानथाप

  बगैचा सम्वाददाता

काठमाडौं

प्रदेशसभामा निर्वाचित भएका एमालेका नेताहरु यतिबेला मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्। केहीले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण (गुट) मा लागि परेका छन् । आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएका छन्। एमालेले प्रदेश ५ मा बाहेक अन्य प्रदेशमा संसदीय दलको नेता छानेको छैन । प्रदेश ५ मा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका शंकर पोखरेल संसदीय दलका नेता छानिएका छन् । उनी दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्। प्रदेशसभा निर्वाचनअघि नै सिट बाँडफाँटका क्रममा एमाले र माओवादी केन्द्रबीच प्रदेश ५ मा गठबन्धनले बहुमत ल्याए पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । ६ वटा प्रदेशमा एमाले र माओवादी केन्द्र गठबन्धनले सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएको छ । एमालेको प्रदेश १ र ३ मा एकल बहुमत छ । प्रदेश २ मा भने सरकार बनाउन वाम गठबन्धनलाई बहुमत छैन । गठबन्धन भए पनि एमाले र माओवादीबीच कुन–कुन प्रदेशमा सरकारको नेतृत्व गर्ने भन्ने विषयमा अन्तिम सहमति भएको छैन । एमालेले  आइतबारसम्म प्रदेश सरकार गठनबारे माओवादीसँग सहमति गर्ने निर्णय लिएको छ। प्रदेश १ मा पार्टीको प्रदेश संयोजक रहेका केन्द्रीय सचिव भीम आचार्य र प्रदेश सहसंयोजक एवं पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका लागि  प्रतिस्पर्धामा छन् । प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ, जसमा एमालेले ५१ सिट जितेको छ। सचिव आचार्यले राजधानीमा शनिबार पत्रकारसँग भेटघाट गर्दै मुख्यमन्त्रीको दाबी गरेका छन् । उनले आफू मुख्यमन्त्री हुनुपर्ने आधार पनि पेस गरे । राईले पनि आफू नै मुख्यमन्त्रीका लागि योग्य भएको दाबी गर्दै आएका छन्। पार्टीमा माधवकुमार नेपाल पक्षमा देखिएका केन्द्रीय सदस्य  जीवन घिमिरे पनि प्रदेश १ मा मुख्यमन्त्रीका आकांक्षी हुन् । आचार्य पनि नेपाल पक्षकै हुन् । प्रदेश १ मा संसदीय दलको चुनाव भए  र पछिल्लो पार्टी महाधिवेशनमा नेतृत्व चयनका क्रममा जस्तै भोट खस्ने हो भने नेपाल पक्षले संसदीय दलको नेता जित्ने देखिन्छ। त्यस्तै प्रदेश ३ मा पनि एमालेको स्पष्ट बहुमत छ ।  १ सय १० सदस्यीय यो प्रदेशसभामा एमालेले ५९ सिट जितेको छ । प्रदेश ३ को मुख्यमन्त्री बन्ने प्रतिस्पर्धामा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे देखिएका छन् । यो प्रदेशमा मुख्यमन्त्री बन्ने चाहना पोलिटब्युरो सदस्यहरू पशुपति चौलागाई, अरुण नेपाल, काठमाडौंका पूर्वमेयर केशव स्थापितसम्मले देखाएका छन् । यो प्रदेशसभामा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा स्पष्ट बहुमत छ। पाण्डेले प्रदेशसभाका सदस्यलाई सम्पर्क गर्दै आफूलाई मुख्यमन्त्री बनाउन अध्यक्ष ओली सकारात्मक रहेको भन्दै सहयोगका लाग आग्रह गरिरहेका छन् । नवौं महाधिवेशनमा शाक्य र पाण्डे दुवैले नेपाल समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । शाक्यले चुनाव जितिन् पाण्डे पराजित भए।  एमाले भ्रातृ संगठन अखिल नेपाल महिला संघले महिलालाई कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीका लागि महिलाबाट शाक्यले मात्रै दाबी गर्दै आएकी छिन्। प्रदेश ४ मा केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीको प्रतिस्पर्धामा छन् । किरण एमाले प्रदेश ४ को संयोजक पनि हुन् । यस्तै पृथ्वीसुब्बा संगठन विभाग प्रमुख पनि हुन् । नवौं महाधिवेशनमा दुवै नेताले ओली समूहबाट चुनाव लडेका  थिए । किरण उपाध्यक्षमा पराजित भए भने पृथ्वीसुब्बा सचिवमा विजयी भए । किरण उपाध्यक्ष वामदेव गौतम निकट मानिन्छन् । प्रदेश ४ मा दुवैलाई आधाआधा कार्यकाल मुख्यमन्त्री बनाउने विकल्पबारे पनि छलफल सुरू भएको छ। प्रदेश ६ मा एमाले समर्थनबिना अरु कसैले पनि सरकार बनाउन सक्दैन । यसैले पनि एमालेले सो प्रदेशमा सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । प्रदेश ६ मा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी माओवादी केन्द्रको पनि छ । सो प्रदेशमा एमालेबाट पोलिटब्युरो सदस्यहरु प्रकाश ज्वाला र यमलाल कँडेल मुख्यमन्त्री बन्ने दौडमा छन्। प्रदेश ७ मा मुख्यमन्त्रीमा एमालेको खासै दाबी देखिएको छैन । सो प्रदेशमा एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले चुनावअघि नै मुख्यमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गरेका थिए । प्रत्यक्ष नभई समानुपातिक निर्वाचनबाट उनी उम्मेदवार बने । प्रत्यक्ष चुनावमा एमालेका कुनै पनि महिला उम्मेदवारले सो प्रदेशबाट जित्न सकेनन् । जसको समानुपातिक बन्दसूचीमा खसआर्य समूहतर्फ पहिलो नम्बरमा रहेका थापालाई पर्याे। सो प्रदेशमा एमालेले समानुपातिकतर्फ प्राप्त गरेको आठ सिटमै महिला पठाउनुपर्ने बाध्यता आएपछि थापा सांसद हुन पाएनन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार