नेपाली क्रिकेट टोलीलाई जनही ४ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

  बगैचा सम्वाददाता

काठमाडौं

जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई ३ लाख दिने भएको छ। क्रिकेट टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ। नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै विश्वकप छनोटमा नेपाल पर्न सफल भएको थियो। फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेल खेलेको ४ दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि २–२ दिनको अन्तरमा नेपालले अफगानिस्तान र हङकङसँग भिड्नेछ। त्यसअघि नेपालले २ वटा ‘वार्मअप’ खेल खेल्नेछ। नेपालले फागुन १५ र फागुन १७ मा वार्मअप खेल खेल्नेछ। समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्। एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत: छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत: छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ। विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ। जसका लागि छनोटमा प्लेअफ हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार