टेटेको वास्तविक परीक्षण,स्विट्जरल्यान्ड………….

०३ असार २०७५,    रोस्तोभ – घरेलु मैदानमा सम्पन्न विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको पीडा भुलाउँदै ब्राजिलले टिम पुनर्निर्माणका लागि ४ वर्ष खर्चिसकेको छ। प्रशिक्षक टेटेले स्ट्राइकर नेइमारको प्रदर्शनमा मात्र निर्भर टोलीलाई यसबीचमा धेरै परिस्कृत गरिसकेका छन् । जसले दक्षिण अमेरिकी छनोटमा गरेको प्रदर्शनले पनि प्रमाणित गर्छ । ब्राजिल विश्वकप छनोट प्रतियोगिताको शीर्ष स्थानमा बस्दै रूस भ्रमण पक्का गर्ने पहिलो टोली बनेको थियो । छैटौं पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा होमिएको ब्राजिलका प्रशिक्षक टेटेको वास्तविक परीक्षण भने आइतबार स्विट्जरल्यान्डविरुद्धको खेलमा हुनेछ। चार वर्षको अवधिमा म्यानचेस्टर सिटीका स्ट्राइकर ग्याब्रियल जिजसले ब्राजिलको टोलीमा बलियो उपस्थिति जनाइसकेका छन् । आफ्नै देशमा सम्पन्न विश्वकप दौरान सान पाउलोको सडकनजिकै जिजस खाली खुट्टामा फुटबल खेलिरहेको तस्बिर सार्वजनिक भएको थियो । तिनै जिजसको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सहजै विश्वकपमा स्थान पक्का गरेको थियो । उनले विश्वकप छनोट प्रतियोगितामा ७ गोल गरेका थिए। जर्मनीलाई नतिजा सुम्पदा म निराश भइनँ । म त्यही टोलीमा परिवर्तन ल्याउँदै पुनः एक पटक विश्वकै बलियो टोलीका रूपमा उभ्याउन सकिन्छ भन्नेमा विश्वस्त थिएँ,’ ब्राजिलका प्रशिक्षक टेटेले भने, ‘कुनै पनि टोलीको गोल खडेरीबाट गुज्रनु नकारात्मक पक्ष होइन । यसले टोलीको उत्कृष्ट प्रदर्शन गर्ने मनोबल प्रस्ट पार्छ । हामीले त्यहीबाट पाठ सिक्याैं।’ टेटेले गत साता अभ्यास खेलमा अस्ट्रियाविरुद्ध ३–० को नतिजा निकाल्दा ४–३–३ को रणनीतिमा खेलाएका थिए । ब्राजिलले यसरी खेल्दा टेटेले नेइमार, फिलिप कौटिन्हो र जिजसलाई अग्रपंक्तिमा उतारेका थिए । कासेमिरो पाउलिन्हो र विलियानले मिडफिल्डमा जिम्मेवारी सम्हालेका थिए । रक्षापंक्तिमा ड्यानिलो, थियागो सिल्भा, मार्सेलो र मिरिन्डा उतारेका टेटेले गोलकिपरमा एलिसनलाई अवसर दिए । टेटेले आइतबार स्विट्जरल्यान्डविरुद्ध पनि सोही रणनीतिमा त्यही टोलीलाई खेलाउने सम्भावना बलियो छ। जिजसले ब्राजिल उत्कृष्ट लयमा भए पनि स्विट्जरल्यान्ड कठिन प्रतिद्वन्द्वी भएकाले सम्हालिएर खेल्नुपर्ने बताए । उनले थपे, ‘स्विट्जरल्यान्डले कस्तो रणनीतिमा अपनाउँछ त्यो अनुमान लगाउन कठिन छ। भाल्मिर पेट्कोभिचको प्रशिक्षणमा लगातार चौथो पटक विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड ६४ वर्षपछि प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड २०१४ मा अन्तिम १६ को खेलमा अर्जेन्टिनासँगै पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। छनोट चरणका १० मध्ये ९ खेल जित्दै विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड फिफा विश्व वरीयताको छैटौं स्थानमा छ । उनीहरूले छनोट चरणमा गरेका २३ गोल १४ खेलाडीको नाममा रहेको थियो । बेन्फिकाका स्ट्राइकर ह्यारिस सेफेरोनोभिच तथा विंगर स्टेफन जुबर तथा जर्दान साकिरी टोलीका टोलीको प्रमुख खेलाडी हुन्। चौथो पटक विश्वकप खेलिरहेका ३३ वर्षे स्विट्जरल्यान्डका मिडफिल्डर भालोन बेहेरामीले ब्राजिलविरुद्ध खेल्न उत्साहित रहेका बताएका छन् । ब्राजिल र स्विट्जरल्यान्ड १९५० को विश्वकपपछि आमनेसामने भएका छैनन् । उक्त खेल २–२ को बराबरीमा सकिएको थियो । बेहेरामीले आफ्नो टोलीको रणनीति नेइमारलाई रोक्ने भएको बताएका छन्। पक्कै पनि हामी आइतबार नेइमारका लागि दुखद र हाम्रा लागि सुखद दिन बन्नेमा आशावादी छाैं,’ बेहेरामीले भने, ‘एक जना मात्र खेलाडीले उनलाई रोक्न कठिन छ, किनभने उनी शारीरिक र रणनीतिक रूपमा बलिया छन्।  ४ वर्षअघिको विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको कोस्टा रिकाले आइतबार सर्बियाविरुद्ध खेल्दा पुरानै लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ । क्वार्टरफाइनलको निर्धारित समयमा नेदरल्यान्ड्सलाई गोलरहित बराबरीमा रोके पनि कोस्टा रिका पेनाल्टी सुटआउटमा निराश बन्दै घर फर्किएको थियो । गोलकिपर केलोर नाभासको कप्तानीमा रहेको कोस्टा रिकामा अमेरिकन मेजर सकर लिग खेल्ने ६ खेलाडी छन्। सर्बियाका लागि २३ वर्षे स्ट्राइकर एलेक्जान्डर मिट्रोभिच, रक्षक ब्रानिस्लाभ इभानोभिच, निमान्जा माटिच र मिडफिल्डर सेर्गिज मिलिन्कोभिच साभिच प्रमुख खेलाडी हुन् । मिट्रोभिचले विश्वकपअघिको अभ्यासमा बोलियाभियाविरुद्ध ५–१ को नतिजा हात पार्दा ह्याट्रिक पूरा गर्दै आफू उत्कृष्ट लयमा रहेको प्रमाणित गरिसकेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार