आठ वर्षपछि फर्किए विश्वकपमा सर्बिया…………

०३ असार २०७५,  मस्को – विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा सर्बिया र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ५ः४५ पछि समारा रंगशालामा सुरु हुनेछ। सबियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। युरोपेली छनोट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले विजेताको हैसियतमा रूसको टिकट पक्का गरेको हो। सर्बिया युरोपेली छनोट प्रतियोगितामा वेल्स, आयरल्यान्ड, अस्ट्रिया, जर्जिया र मोल्डोभाजस्ता बलिया टोली सम्मिलित समूह ‘डी’ मा परेको थियो। आयरल्यान्डलाई २ अंकले पछि पार्दै सर्बिया ८ वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपमा छनोट हुनाका बावजुद पनि सर्बियाको फुटबल टोलीमा सबथोक राम्रोसँग अघि बढेन। सर्बियाले विश्वकपमा छनोट गराउन सफल प्रशिक्षक स्लाभोल्जुब मुस्लिनलाई बर्खास्त गरिदियो। मुस्लिनको स्थानमा म्लादेन क्रास्टाजिकलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गर्याे। युगोस्लाभियाको नामबाट १९३० कै संस्करणबाट विश्वकपमा सहभागिता जनाएको युरोपेली टोलीले सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेलेको हो। सर्बियाको नाममा पहिलो पटक सहभागिता जनाउँदा समूहचरण खेलेर घर फर्किएको थियो। त्यसपछि ब्राजिलमा भएको विश्वकपमा भने सर्बियाले छनोट चरण पार लगाउन सकेन। १९३० को संस्करणमा चौथो स्थान हात पारेको युगोस्लाभियाले त्यसपछि १९५० मा विश्वकप खेलेको थियो। उक्त संस्करणमा समूह चरणबाट बाहिरिएको युगोस्लाभियाले १९५४ र १८५८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। १९९२ मा चौथो हुन सफल युगोस्लाभिया त्यसपछिका दुई संस्करणमा छनोट हुन सकेन। १९७४ मा दोस्रो चरण पुगेको युगोस्लाभिया १९७८ मा फेरि छनोट हुन सकेन। १९८२ मा समूह चरणबाट बाहिरिएको टोली १९८६ मा छनोट चरण पार गर्न सकेन। १९९० मा क्वार्टरफाइनल खेलेको युगोस्लाभिया १९९४ को विश्वकपमा भने निलम्बनमा थियो। १९९८ मा अन्तिम १६ मा स्थान बनाउन सफल २००२ मा फेरि छनोट हुन सकेन। २००६ मा सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा विश्वकप खेलेको टोलीले २०१० मा भने सर्बियाको नाममा विश्वकप खेलेको थियो। दुवैमा टोली समूह चरणबाटै आउट भएका थिए। २००६ मा स्वतन्त्र राष्ट्रको हैसियत बनाएको सर्बियाले विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो। आठ वर्षपछि विश्वकपमा पुनरागमन गर्ने क्रममा सर्बियाले आयरल्यान्डसँग २–२ को बराबरी छनोट प्रतियोगिता सुरु गरेको थियो। त्यसपछि टोलीले पछाडि फर्केर हेर्नु परेन। अस्ट्रिया, जर्जिया र मोल्डोभालाई हराएको सर्बियाले वेल्ससँग बराबरी खेलेको थियो। छनोट प्रतियोगिताको १० मध्ये ६ खेल जितेको थियो सर्बियाले ३ खेल बराबरी र १ खेलमा पराजय भोगेको थियो। विपक्षी पोस्टमा २० गोल गरेको सर्बियाले १० गोल खायो। छनोट प्रतियोगितामा सर्बियाका एलेक्सान्द्रो मित्रोभिचले सबैभन्दा ६ गोल गरे भने डुसान टेडिचले ४ गोल गरेका थिए। सर्बियाका प्रशिक्षक क्रास्टाजिकले विश्वकपमा छनोट भएर सफलता पाइसकेको भन्दै रूसमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। समूह ‘डी’ मा रहेको सर्बियाले पहिलो चरणमा ब्राजिल, स्विट्जरल्यान्ड र कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार