चार राष्ट्रकै जितकाे अाशा………….

०६ असार २०७५,    काजान – अन्तिम समयमा प्रशिक्षक युलेन लोप्तेगी बर्खास्तगीमा परेपछि रूस विश्वकपमा स्पेनिस टोलीमा त्यसको प्रभाव पर्ने सर्वत्र अनुमान थियो। तर पहिलो खेलमा शुक्रबार पोर्चुगलविरुद्ध स्वाभाविक प्रदर्शन गर्दै स्पेनले टिममा त्यसको नकारात्मक असर नपरेको प्रमाणित गरेको थियो । उत्कृष्ट प्रदर्शनका बावजुद पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग ३–३ को बराबरीमा रोकिएको स्पेनले अघिल्लो चरण प्रवेश गर्नका लागि अब स्पष्ट जित हासिल गर्नुपर्नेछ। २०१० को च्याम्पियनले समूह ‘बी’ अन्तर्गत बुधबार हुने आफ्नो दोस्रो खेलमा एसियाली प्रतिद्वन्द्वी इरानसँग प्रतिस्पर्धा गर्नेछ । जहाँ स्पष्ट जित नयाँ प्रशिक्षक फर्नान्डो हायरोको टोलीको एक मात्र लक्ष्य हुनेछ । स्पेन फुटबल संघले गत बुधबार आफुहरूलाई जानकारी नगराई लोप्तेगीले रियाल मड्रिडको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेको भन्दै उनलाई बर्खास्त गर्दै हायरोलाई अन्तरिम प्रशिक्षकका रूपमा रूस पठाएको थियो। हायरोको नेतृत्वमा पहिलो खेलमा स्पेनले पोर्चुगलसँग ३–३ को बराबरी खेलेको थियो । पोर्चुगलविरुद्ध जित हात पार्न नसके पनि स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै आफूहरू अझै विश्व फुटबलको बलियो टोली भएको प्रमाणित गरेको थियो । आन्द्रियास इनियस्टा र सर्जियो बुस्केट्सले मध्यपंक्तिमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने उक्त खेलमा दुई गोल गरेका स्ट्राइकर डिएगो कोस्टाले आफू अझै लयमा भएको प्रमाणित गरेका थिए। खेलाडीहरूले पहिलो खेलमा उच्च मनोबलका साथ प्रदर्शन गरे,’ हायरोले भने, ‘इरान सहज प्रतिद्वन्द्वी होइन । तर पहिलो खेलको प्रदर्शनले निरन्तरता पाए दोस्रो खेलमा हामी सहज नतिजाबाट ढाढा छैनौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रो गोलमा अक्षम्य गल्ती गरेका गोलकिपर डेविड डी हिया इरानविरुद्धको खेलमा पनि पहिलो रोजाइमै पर्ने बताइएको छ । ‘खेलाडीले एउटा गल्ती ग¥यो भन्दैमा उसलाई मैदानबाहिर राखेर मनोबल थप गिराउने काम गर्नु हुँदैन,’ स्पेनका रक्षक नाचो फर्नान्डेजले भने, ‘डी हिया विश्वकै उत्कृष्ट गोलकिपर हुन् । त्यसैले उनी इरानविरुद्ध पनि मैदान उत्रनेछन्।’ पहिलो खेलमा मोरक्कोमाथि १–० को विजयी नतिजा निकाल्दै ३ अंक जोडेको इरान समूह ‘बी’ को शीर्ष स्थानमा रहँदा समान १ अंक जोडेका पोर्चुगल र स्पेन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन मोरक्को अन्तिम स्थानमा छ। त्यस्तै आत्मघाती गोलमा भाग्यमानी साबित भएको इरान स्पेनसँग पनि आत्मसमर्पण गर्ने ‘मुड’ मा छैन । स्पेनलाई कम्तीमा बराबरीमा रोक्दै अन्तिम १६ प्रवेशको सम्भावना कायम राख्नु इरानको योजना हो। एसियाली विश्वकप छनोटको १० खेलमा अपराजित यात्रा कायम राख्दा ९ खेलमा गोल नखाएको इरानले मोरक्कोविरुद्धको खेलसम्म अपराजित यात्रा लम्बाउँदै आफ्नो रक्षापंक्ति बलियो भएको प्रमाणित गरेको छ । त्यसैले इरानको रक्षापंक्ति तोड्न स्पेनका स्ट्राइकर इस्को, कोस्टा र डेविड सिल्भालाई सहज हुने छैन। स्पेन विश्वकै उत्कृष्ट टोली भएको सबैलाई थाहा छ,’ इरानका गोलकिपर एलिरेजा बेरानभान्डले भने, ‘तर हामी उनीहरूलाई कडा चुनौती दिँदै अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छौं ।’रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई बुधबार नतिजा सुम्पिए अफ्रिकन राष्ट्र मोरक्को रूस विश्वकपबाट बाहिरिनेछ। मोरक्को पहिलो खेलको अतरिक्त समयमा अजिज बौहादोउजको आत्मघाती गोलमा इरानलाई नतिजा सुम्पिन बाध्य भएको थियो । ‘मोरक्कोले पहिलो खेल गुमाइसकेको छ । त्यसैले बुधबार उनीहरू कुनै हालतमा पनि जित हात पार्दै प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न चाहान्छन्,’ पोर्चुगलका स्ट्राइकर आन्द्रे सिल्भाले भने, ‘हामीले उनीहरूसँग सतर्क भएर खेल्नु आवश्यक छ।’ अफ्रिकन छनोटको ६ वटा खेलमा कुनै पनि गोल नखाएको मोरक्कोको रक्षापंक्ति बलियो मानिन्छ । तर पहिलो खेलमै ह्याट्रिक पूरा गर्दै आफू उत्कृष्ट लयमा रहेको संकेत गरेका रोनाल्डोलाई रोक्नु मेहदी बेनाटियाको नेतृत्वमा रहेको मोरक्कोको रक्षापंक्तिका लागि कठिन बन्न सक्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार