विश्वकप फुटबलमा अाज हुने चार खेलहरू………….

११ असार २०७५,   रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार (आज) ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ। खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ। दुवै राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइ मात्र हुनेछ। साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो। इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले स्तब्ध भएको थियो। समूह ‘ए’ बाट रसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। आजै हुने अर्को खेलमा बेलुका ७ः४५ मा समुह ‘ए’ कै उरुग्वे र रसिया भिड्नेछन्। सो खेल समारा एरिना रंगशालामा हुनेछ। यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ। त्यस्तै मोर्डोभिया एरिना सारांस्क रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह बी का पोर्चुगल र इरान आमने सामने हुनेछन्। पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी र दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो। इरान भने पहिलो खेलमा मोरक्कोसँग १–० र दोस्रो खेलमा स्पेनसँग समान १–० ले हारेको थियो। यो समूह बाट मोरक्को बाहिरिसकेको छ भने स्पेन र पोर्चुगल र इरान मध्ये एक टोली यो खेलपछि बाहिरिने छन्। यता सोही ११ः४५ मै कालिनिन्गराड रंगशालामा हुने अर्को खेलमा स्पेन र मोरक्को खेल्दैछन्। यो खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ।विश्वकप फुटबलमा सोमबार हुने चार खेलहरूः

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार