बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा……….

विराटनगर – २०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा बिहीबार भएको समूह ‘ए’ को दोस्रो खेलमा भुटानले लगातार दोस्रो पराजय भोगेपछि समूह ‘ए’ बाट नेपाल र बंगलादेश अन्तिम चारमा प्रवेश गरेका हुन् भने बिहीबारको पराजयसँगै भुटान साफ च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ। शनिबार हुने समूह ‘ए’ अन्तर्गत नेपाल र बंगलादेशको खेलले समूहविजेता र उपविजेताको टुंगो लाग्नेछ। यता पहिलो खेलमा भुटानमाथि ३–० को नतिजा हात पारेको नेपाल यही खेलबाटै अन्तिम चारको ढोकाभित्र प्रवेश गर्याे। उद्घाटन खेलमा ३–० को नतिजा सुम्पिएको भुटान दोस्रो खेल पनि गुमाउँदै घर फर्किने भएको हो। पहिलो खेलमा आयोजक नेपालसँग ३–० ले पराजित भएपछि अघिल्लो चरणको यात्रालाई जीवितै राख्न गर या मरको अवस्थामा मैदान उत्रिएको भुटानले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा भने निरन्तरता दिन असफल भएको थियो। पहिलो हाफ सन्तुलित प्रदर्शन गरेको भुटानविरुद्ध बंगलादेशले १२औं मिनेटमा वान भर्सेस वान मौका गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो। बंगलादेशकी सिरात जहान सोप्नाले मैदानको मध्यभागबाट पाएको लामो पासलाई पेनाल्टी बक्सभित्र भुटानकी गोलकिपर संगीता मुंगरलाई बिट गराउन नसक्दा मौका गुमेको हो। उनले प्रयास गरे बल गोलपोस्टभन्दा माथिबाट बाहिरियो। १८औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनले पेनाल्टी बक्सबाहिरबाट गरेको फितलो प्रहार भुटानकी गोलकिपर संगीताले सहजै नियन्त्रणमा लिँदै विफल पारिन्। २२औं मिनेटमा कप्तान सविनाले नै पेनाल्टी बक्सभित्र गोलका लागि अर्को मौका सिर्जना गरे पनि भुटानको रक्षापंक्तिले उत्कृष्ट बचाउ गर्यो। लगत्तै सविनाले नै सिरात जहान सोप्नालाई मौका दिलाए पनि सोप्ना पेनाल्टी बक्सभित्र बललाई नियन्त्रण लिन नसक्दा अर्को अवसर खेर गएको थियो। २९औं मिनेटमा मारिया मन्दाले प्रहार गरेको कर्नर बल जहान सोप्नाले सदुपयोग गर्न नसक्दा पुनः अग्रता लिने मौका गुम्यो। बुधबार माल्दिभ्स र भारतको खेलमा जस्तै बिहीबार पनि भुटान र बंगलादेशबीच पनि कुलिङ ब्रेक लिइएको थियो। दुई मिनेट लिएको उक्त कुलिङ ब्रेकपछि पनि बंगलादेशले भुटानमाथि दबाब जमायो। ३५औं मिनेटमा भुटानकी गोलकिपरले रिलिज गरेको बललाई कप्तान सविनाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो। त्यसको एक मिनेटपछि नै बंगलादेशले अर्को मौका बनाए पनि भुटानकी गोलकिपर संगीताले सहजै नियन्त्रणमा लिँदै बंगलादेशको आक्रामक खेललाई रोक्न सफल भइन्। ३८औं मिनेटमा बंगलादेशले पेनाल्टी बक्सभित्र अग्रता लिने अवसर पाए पनि रेफ्रीले अफसाइडको संज्ञा दिए। तुलनात्मक हिसाबले बलियो आकलन गरिएको बंगलादेशलाई रोक्न सफल भुटानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल रह्यो। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पेनाल्टी बक्सभित्रको क्रस बललाई मिश्रात जहान मौसुमीले गोल गरे पनि लाइन रेफ्रीले अफसाइडको इसारा गरे। पहिलो हाफको सकिँदा बंगलादेश ६ वटा अफसाइडको सिकार भएको थियो। २०१६ को संस्करणमा उपाधि भिडन्तमा भारतसँग प्रतिस्पर्धा गरेको बंगलादेशले अग्रता लिन दोस्रो हाफ कुर्नुप¥यो। ४६औं मिनेटमा मोनिका चक्माको कर्नर बललाई मिश्रात जहान मौसुमीले हेडर गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। पहिलो हाफमा सन्तुलित खेल प्रदर्शन गरेको भुटानले दोस्रो हाफमा निरन्तरता दिन सकेन। ७४औं मिनेटमा भुटानले कर्नरबाट सुनौलो मौका सिर्जना गरे पनि सफल हुन सकेन। वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा प्रवेश गरेकी सोनाम छोदेनले पेनाल्टी बक्सभित्रबाट हानेको कर्नर बल दोर्जी इदोनले बाइसाइकलको प्रयास गरे पनि बार नजिकैबाट बाहिरिएको थियो। ८२औं मिनेटमा बंगलादेशकी सोप्नाले पुनः गोलको प्रयास गरिन्। तर सोप्नाले दायाँ बार च्याप्दै प्रहार गरेको बल भुटानकी गोलकिपर संगीताले उत्कृष्ट बचाउन गरिन्। अग्रता फराकिलो पार्न अन्तिमतिर आक्रामक देखिएको बंगलादेशले खेल सकिन पाँच मिनेट बाँकी छँदा गोल गर्दै अग्रता मजबुत बनायो। बंगलादेशकी कप्तान सबिनाले गोल गर्दै जित सुनिश्चित गरिन्। नेपालसँगै अन्तिम चारमा स्थान बनाएको बंगलादेशका प्रशिक्षक गोलम रोब्बानी छोटोनले खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए। ‘सुरुआतबाट नै हाम्रा खेलाडीले भुटानको टोलीलाई दबाबमा राख्दै खेले। भुटानले सुरुआतबाट रक्षात्मक खेल्यो,’ प्रशिक्षक गोलम रोब्बानीले भने, ‘दोस्रो हाफमा पनि पहिलो हाफको लयलाई निरन्तरता दिन लगाएसँगै हामीले गोल निकाल्न सफल भयौं।’ नेपालसँगको खेलमा पनि सुखद नतिजा निकाल्ने उद्देश्य रहेको बंगलादेशका प्रशिक्षक गोलम रोब्बानीले थपे, ‘नेपाली टोलीले घरेलु मैदानको फाइदा उठाउन सक्छ, रक्षापंक्ति राम्रो भए पनि पहिलो खेलमा राम्रो नतिजा आए पनि दोस्रोमा अझै राम्रो गर्ने आशावादी छौं।’ यस्तै अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेकी बंगलादेशकी उपकप्तान मिश्रात जहान मौसुमीले केही दिनअगाडि मात्र म्यानमारसँग ओलम्पिक छनोटमा खेलेको अनुभवले खेलमा उच्च मनोबल बढाएको बताइन्। उनको गोलबाट बंगलादेशले सुरुआती अग्रता लिन सफल भएको थियो। उता गर या मरको अवस्थामा मैदान उत्रिएको भुटानका प्रशिक्षक सुङ जिय लीले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा भन्दा दोस्रो खेलमा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। नेपालसँग भन्दा पनि बंगलादेशसँग राम्रो खेल खेल्यौं, पहिलो हाफमा केही राम्रा अवसर लिन सफल भयाैं,’ प्रशिक्षक सुङ जिय लीले भने, ‘बंगलादेश र नेपाल नेपाल टेक्निकल्ली उस्तैउस्तै हुन्। घरेलु टोली भएकाले नेपाललाई उत्कृष्ट प्रदर्शन गर्न सहज हुनेछ।’ प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत शुक्रबार माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ। प्रतियोगितामा माल्दिभ्सको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो। यसअघि भएको पहिलो खेलमा माल्दिभ्स भारतसँग ६–० ले पराजित भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार