कोपा अमेरिका खेल- भेनेज्वेलालाई हराउँदै अर्जेन्टिना र कोलम्बियालाई हराउँदै चिली सेमिफाइनलमा

एजेन्सी

हाल ब्राजिलमा जारी कोपा अमेरिका फुटबल खेलमा लिओनल मेस्सीको टिम अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा उसले प्रतिद्वन्द्वी भेनेज्वेलामाथि २-० को सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यो जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको आयोजक तथा प्रमुख उपाधि दाबेदार टिम ब्राजिलसँगको भेट पक्का गरेको छ । अब फाइनल पुग्न ब्राजिल र अर्जेन्टिनाले एकले अर्कोलाई पराजित गराउनु पर्ने छ ।

भेनेज्वेलाविरुद्ध एन्जल डि मारिया र पाउलो डिबालालाई बेन्चमा राखेर मैदान उत्रिएको अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । उसका लागि खेल सुरु भएको १० मिनेटमै लौटारो मार्टिनेजले रोचक गोल गरेर अग्रता दिलाएका थिए । उनले बक्सभित्र सर्जियो अगुएरोले दिएको छोटो पासमा उत्कृष्ट ब्याक किक प्रहार गर्दै भेनेज्वेलाका डिफेन्डर र गोलरक्षकले पत्तै नपाउनेगरी बललाई गोलपोष्ट भित्र छिराएका थिए ।

त्यसपछि दोस्रो हाफमा अर्जेन्टिनाले खेललाई थप आक्रामक बनाए पनि उसले दोस्रो गोलका लागि ७४औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । अगुएरोले बक्स भित्रबाट हानेको प्रहार भेनेज्वेलाका गोलरक्षकको हातबाट चिप्लिएपछि नजिकै रहेका जियोभानी लो सेल्सोले सहजै गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २-० को सहज अग्रता दिलाए । त्यसअघि खेलको ६९औं मिनेटमा भेनेज्वेलाको एक कडा प्रहार अर्जेन्टिनी गोलरक्षक अर्मानीले बचाएका थिए ।

खेलमा २-० ले पछि परेको भेनेज्वेलाले त्यसपछि गोल गर्न सकेन र खेल २-० को अन्तरले अर्जेन्टिनाले जितेको छ । यस खेलमा अर्जेन्टिनाका कप्तान लोनियल मेस्सीको प्रदर्शन औसत मात्रै रह्यो । उनी आफ्नो पुरानो लयमा नदेखिँदा अन्य खेलाडीले निकै दबाब महसुस गरेका थिए ।

अब पहिलो सेमिफाइनल खेल आगामी जुलाई ३ तारिखमा हुनेछ । सो खेलमा हुने दक्षिण अमेरिकी क्षेत्रका पावर हाउस ब्राजिल र अर्जेन्टिनाको रोमाञ्चक भिडन्त हेर्नलायक हुनेछ । जुन खेललाई प्रतियोगिताको ‘फाईनल’ खेलको रूपमा हेरिएको छ ।

त्यसैगरी उक्त दिन भएको अर्को खेलमा निर्धारित ९० मिनेटभित्र गरेका २ गोल भिएआरबाट रद्द भएपछि पेनाल्टीमा धकेलिएको खेलमा कोलम्बियालाई हराउँदै साबिक विजेता चिली ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल खेलमा चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो ।

त्यसअघि निर्धारित ९० मिनेटमा दुवै पक्षबाट गोल नभएपछि खेललाई सोझै पेनाल्टी सुटआउटमा लगिएको थियो । जहाँ चिली भाग्यमानी भयो । त्यसअघि चिलीले खेलमा २ गोल गरे २ वटै भिएआरबाट रद्द गरिँदा कोलम्बिया भाग्यमानी ठहरिएको थियो । तर, पेनाल्टीमा उसलाई भाग्यले साथ दिएन ।

पेनाल्टी सुटआउटमा दुवै टिमका सुरुआती ४ जनाले गोल गरेका थिए । जसमा कोलम्बियाका लागि हामेस रोड्रिग्वेज, एडविन कार्डोना, जुआन क्वाडराडो र येरी मिनाले गोल गर्न सफलत भए । यता, चिलीका लागि आर्टुरो भिडाल, एदुआर्डो भार्गास, एरिक पुल्गार र चाल्र्स अरन्गीजले पनि गोल गरेपछि ४-४ मा पुग्यो ।

तर, कोलम्बियाका लागि पाँचौं पेनाल्टी हानेका विलियम टेसिल्लोले प्रहार पोस्टबाहिर गएपछि चिलीलाई राहत मिल्यो । त्यसपछि एलेक्स सान्चेज टिमका लागि अन्तिम र विजयी पेनाल्टी हान्न आए । र, सजिलै गोल गर्दै टिमलाई ५-४ को जित दिलाउँदै सेमिफाइनलमा प्रवेश गराए ।

त्यसअघि ९० मिनेटभित्र चिलीले २ गोल गरेका थियो । उसका लागि चाल्र्स अरन्गीज र आर्टुरो भिडालले गोल गरे पनि भिएआरबाट दुवै गोल रद्द गरिँदा चिलीलाई ठूलो झट्का लागेको थियो । खेलमा केही तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो । तर पेनाल्टीमा चिलीले नतिजा खोसेरै छाड्यो ।

यसअघि कोलम्बियाले समूह चरणमा ३ वटै खेल जितेर शानदार प्रदर्शन गरेको थियो । तर, चिलीसँग उसले आफ्नो लयमा प्रदर्शन गर्न सकेन । खेल अवधिभर चर्को दबाब झेलेको उसले कम मात्रै गोलका अवसर बनायो ।

अब चिलीले सेमिफाइलनमा अन्तिम क्वार्टरफाइनलमा उरुग्वे र पेरुबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार