अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित……….

 काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो । पाकिस्तानको जितमा इमाद वसिमले सबैभन्दा धेरै ४९ रन योगदान गरे । उनी म्यान अफ द म्याच बने । बाबर आजमले ४५ र इमाम उल हकले ३६ रन बनाए । अफगानिस्तानका लागि मुजिब उर रहमान र मोहम्मद नबीले दुई-दुई तथा राशिद खानले एक विकेट लिए । आठ खेलमा पाकिस्तान चार जित, तीन हार र एक बराबरीसहित नौ अंकका साथ चौथो स्थानमा आएको छ । जारी विश्वकपमा अफगानिस्तानले भने लगातार आठौं हार व्यहोरेको छ । अफगानिस्तानका बलरले शानदार बलिङ गरेका थिए । जसका कारण पाकिस्तानका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । पहिलो ओभरमै मुजिब उर रहमानले पाकिस्तानका फखर जमानलाई आउट गरेर पाकिस्तानको शुरुवाती खेल बिगारिदिएका थिए । त्यसपछि इमाम उल हक र बाबर आजमले टिमलाई सम्हाल्ने कोशिस गरे । यी दुई पनि धेरैबेर टिक्न सकेनन् र पबेलियन फर्किए । त्यसपछि मोहम्मद हफिज (१९), हरिस सोहेल (२७) र कप्तान सरफराज अहमद (१८) ले पनि राम्रो रन बनाउन सकेनन् । तर इमाद वसिम (नटआउट ४९) ले पारी सम्हाले र अन्तिममा वहाब रियाजसँग मिलेर उनले पाकिस्तानलाई जित दिलाए । यद्यपि उनी अर्धशतक बनाउन एक रनले चुके । अफगानिस्तानको तर्फबाट स्पीनर मुजिब उर रहमान, मोहम्मद नबी र राशिद खानले शानदार बलिङ गरे । पहिले ब्याटिङ गर्ने अफगानिस्तानको निर्णय सही साबित भएन । उसले २७ रनको स्कोरमा २ विकेट गुमाइसकेको थियो । ओपरन रहमत शाहले ३५ रन भन्दा बढी बनाउन सकेनन् । टिमको स्कोर जब ५७ रन हुँदा उनी पनि आउट भए । इमराम अली खिल २४, असगर अफगान ४२, मोहम्मद नबीले १६, नजिबुल्लाह जादरान ४२ र समिउल्लाह सेनवारीले १९ रन बटुल्दै अफगानिस्तानलाई सम्मानजक स्कोरसम्म पुर्‍याए । पाकिस्तानको बलिङ पनि शानदार रह्यो । शाहीद अफि्रदीले १० ओभरमा ४८ रन दिएर चार विकेट झारे । यसैगरी इमाद वसिम र वहाब रियाजले दुई-दुई विकेट लिए । एक विकेट शादाब खानको नाममा रह्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार