रेमिट्यान्स चल्छ , भोट चल्दैन…..

काठमाडौं –     आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभित्र राजनीतिक माहोल तातेको छ । राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् भने सरकार र निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउन आवश्यक तयारीमा जुटिरहेका छन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनले यो निर्वाचनलाई आमनागरिकका लागि चासोको विषय बनाएको छ । देशभित्र मात्र होइन, वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका लाखौं नेपालीले पनि यो निर्वाचनलाई चासोसाथ हेरिरहेका छन् । नेपालको राजनीतिबारे चासो नराख्ने युवासमेत अहिले देशमा हुने चुनावलाई लिएर छलफल गर्ने गरेका छन् । केही समयअघिसम्म विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिने विषयले चर्चा पाएको थियो । प्रवासबाटै मतदान गर्न पाउने आशले उत्साहित नेपाली पछिल्लो समय विदेशबाटै मतदानको अधिकार दिन नसकिने भएपछि निराश बनेका छन् । निर्वाचन आयोगले तयारी तथा प्राविधिक संरचना नपुगेकाले हालको अवस्थामा विदेशबाट मतदानको अधिकार दिन नसकिने जनाएको छ । विदेशमा रहेका ४० लाखभन्दा बढी नेपालीले मतदान गर्न पाउने सम्भावनाले ठूलो अपेक्षा जगाएको थियो । तर, त्यो अपेक्षा पूरा नहुँदा प्रवासी नेपाली आफूहरूलाई राज्यले बेवास्ता गरेको महसुस गरिरहेका छन् । दुई दशकभन्दा बढी अवधिदेखि युनाइटेड अरब इमिरेट्स (यूएई) मा काम गर्दै आएका रामप्रसाद ढकाल यो पटक विदेशबाटै मतदान गर्न पाउनेमा आशावादी थिए । तर, उतैबाट भोट हाल्न नाउने भनेपछि यतिबेला निराश छन् । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले विदेशबाटै मतदानको अधिकार दिन्छ भन्नेमा उनी आशावादी थिए । तर, अहिले नहुने भन्ने भएपछि प्रवासमा रहेका नेपालीप्रति राजनीतिक दलहरूको दृष्टिकोणमै समस्या रहेको उनको बुझाइ छ । प्रवासी नेपाली एकता समाज यूएईका सचिव समेत रहेका ढकालले प्रवासमा रहेका अधिकांश नेपालीलाई पुराना राजनीतिक दलप्रति वितृष्णा भएको बताए । अहिले धेरै प्रवासी नेपाली नयाँ राजनीतिक शक्तिप्रति आकर्षित भइरहेको उनको भनाइ छ । यही कारण प्रवासीलाई मतदान अधिकार दिए पुराना दललाई घाटा पर्छ भन्ने डरले यो विषय कार्यान्वयनमा ल्याइएन,’ उनले भने, ‘हाम्रो रेमिट्यान्सले देशको अर्थतन्त्र चल्छ, तर भोट चल्दैन ? यो गम्भीर प्रश्न हो, प्रवासमा बसेकालाई भोटिङ राइट दिइयो भने सही नेतृत्व छान्न सकिन्छ र भोलि देश फर्किने वातावरण पनि बन्छ । अन्य देशमा दूतावास मार्फत मतदान अभ्यास रहेको उल्लेख गर्दै उनले नेपालले पनि चाहे यो सम्भव रहेको बताए । वैदेशिक रोजगारीका लागि यूएईमै रहेका खेमराज न्यौपाने समेत विदेशबाट भोट गर्न पाइन्छ भनेर खुसी थिए । तर, नहुने भएपछि आफ्नो आशा निराशामा परिणत भएको बताउँछन् । प्रवासबाटै मताधिकार प्रयोग अन्तर्राष्ट्रिय स्तरमै चलनमा रहेको उनको भनाइ छ । दुबईमा समेत विभिन्न देशका नागरिकले भोट हाल्ने गरेको उनले बताए । प्रवासी नेपालीहरूको पैसा मात्र चल्ने र अहिलेसम्म बनेका जुनसुकै सरकारले वैदेशिक रोजगारीमा आएका नेपालीको गन्ती पासपोर्ट, श्रम स्वीकृति र बीमा बेच्ने इमानदार ग्राहकका रूपमा मात्र सम्झेको देखिन्छ,’ उनले भने । राजनीति र कर्मचारीतन्त्रको दलदलले देश डुबेको भन्दै उनले वैदेशिक रोजगारीमा रहेकाहरूको मताधिकारलाई नै अरू परियोजना जस्तै धरापमा पारिएको उनले गुनासो गरे । पुराना दलहरूलाई वैदेशिक रोजगारी भोटिङ व्यवस्थाले सबैभन्दा बढी घाटा हुने र नयाँ राजनीतिक दललाई फाइदा हुने हुँदा खासै चासो नराखेको उनको दाबी छ । यूएईमै काम गर्दै आएका मणिराज खतिवडाले समेत हरेक नागरिकलाई मतदान गर्न पाउनुपर्ने अधिकार भएको बताए । चाहेको उम्मेदवार, चाहेको राजनीतिक दललाई मतदान गर्न पाउनुपर्ने तर आफूहरू त्यो कुराबाट वञ्चित भइरहेको उनको भनाइ छ । विदेशबाट मतदान अधिकारमा विभिन्न प्राविधिक विषय समेत रहेकाले खाडी मुलुकमा निर्वाचन नहुने उनले बताए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार