झापाका एसपी सरुवा हुँदा एमाले किन तरंगित?…..

काठमाडौं –      ‘उम्मेदवारी मनोनयनको अघिल्लो दिन झापा-५ मा नयाँ एसपी पठाइयो । विराटनगर विमानस्थलमा चेकका नाममा हाम्रा अध्यक्षज्यूमाथि नराम्रो व्यवहार गरियो । बालेनज्यूको मिसेसले घरदैलो गर्ने क्रममा सिभिल प्रहरीहरू परिचालन गरेको समाचार आयो । यस्ता गतिविधिले निर्वाचन कसैको एजेन्डा स्थापित गर्न र कसैलाई चुनाव जिताइदिनका लागि गर्ने कुरामा सरकार माध्यम बन्ने देखिन्छ । काठमाडौंमा बुधबार आयोजित ‘सूर्य ध्वजाबाहक उम्मेदवारहरूसँगको संवाद’ कार्यक्रममा नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले झापामा एसपी सरुवा गर्नुका पछाडि खेलहरू भएको संकेत गरे । बस्नेत यत्तिमै रोकिएनन् । उनले थपे, ‘अझ के सुनिँदैछ भने, चुनाव दुई चरणमा गर्ने र चैतको अन्तिमतिर वा वैशाखको पहिलो हप्तातिर हिमाली जिल्लातिर गर्ने । त्यो दौरानमा प्रहरी र सेनाका ब्यारेक र क्याम्पहरूमा मतपेटिका राख्ने र त्यो आधारमा क-कसलाई जिताउनुपर्ने, क-कसलाई हराउनुपर्ने हिसाबकिताब गर्ने भन्ने तहको षड्यन्त्रमा स्वयं सरकार संलग्न छ भन्ने देखिन्छ । बस्नेतले एसपी सरुवाको विषयमा मतपेटिका नै सारेर जित्ने-हराउने खेलसम्म हुने गम्भीर आरोप लगाए । झापाका एसपी राजन लिम्बुको सरुवा र त्यहाँ नयाँ एसपी बसुन्धरा खड्कालाई खटाएको विषयमा बस्नेत मात्रै होइन, उनकै अध्यक्ष अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सार्वजनिक रूपमै असन्तुष्टि जाहेर गरेका थिए । ४ माघमा प्रहरी प्रधान कार्यालयले ४८ प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको थियो । सो क्रममा झापाका एसपी राजन लिम्बुलाई काठमाडौंस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरियो । अनि बागमती प्रदेश मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौंडा दरबन्दी भएकी बसुन्धरालाई झापा प्रमुखको रूपमा खटाइयो । यो सरुवा निस्केको भोलिपल्ट ५ माघमा ओली झापा पुगेका थिए । लगत्तै पत्रकार सम्मलेन गरेर ओलीले एसपी सरुवामा असन्तुष्टि मात्रै जनाएनन्, एसपी लिम्बुले निष्पक्ष भूमिका खेल्ने डरले सरकारले सरुवा गरेको आरोप लगाए । झापाका एसपीले निष्पक्ष भूमिका खेल्ने डर भयो सरकारलाई । त्यसकारण उहाँ (एसपी राजन लिम्बु) फेरिनु भयो । उहाँलाई काठमाडौं तानिएको छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘म गृहमन्त्री हुँदा यो पक्ष र त्यो पक्ष भनिनँ । नियमअनुसार जे हुन्छ त्यहीअनुसार गरेँ । म प्रधानमन्त्री हुँदा पनि कहिले त्यो गरिनँ । धम्की, दबाब कसलाई के आवश्यकता पर्‍यो भन्ने आधारमा गरिनँ । यसरी आफ्नो सरुवाको विषयलाई अनेक आशंका गरिएपछि एसपी खड्काले प्रष्टीकरण नै दिनुपर्ने अवस्था आयो । १३ माघमा पत्रकार सम्मेलन गर्दै एसपी खड्काले भनिन्, ‘एउटा अफिसरको क्षमता मूल्यांकन गरेर संगठनले नियमित सरुवामार्फत पठाएको कुरालाई कुनै शंका, उपशंका गरिराख्नुपर्छ जस्तो लाग्दैन । मेरो अन्यत्र जिल्लाको पोस्टिङ कस्तो थियो, त्यसमाथि चुनावहरू गर्दै आएको अनुभव पनि छ । त्यो चुनाव निष्पक्ष, सुरक्षित र भयरहित बनाउन मैले पुलिस अफिसर, कमान्डर भएर जिम्मेवारी निभाएको आधारमा पनि म यहाँ खटिएको हो । त्यसो त एसपी सरुवाको विषयमा प्रश्न उठाउनुपर्ने कुनै ठाउँ नै नरहेको प्रहरी प्रधान कार्यालयले बताएको छ । ‘राइट म्यान राइट प्लेस अर्थात् क्षमता, दक्षताको आधारमा नियमित सरुवामार्फत झापामा पनि बसुन्धरा खड्कालाई पठाएका हौं । अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँको छवि राम्रो छ । व्यावसायिकतामा आँच आउने कुनै काम गर्नुहुन्न । विगतमा कमान्ड सम्हाल्दा पनि उत्कृष्ट नतिजा निकाल्नु भएको व्यावसायिक अफिसरलाई खटाएका हौं,’ केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले अनलाइनखबरसँग भने । अहिले निर्वाचन लक्षित सबैभन्दा चुनौतीपूर्ण मानिएको झापामा ९ माघदेखि खड्काले कमान्ड सम्हालेकी छिन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार