११ वर्षदेखि सिंहदरबारले सुनेन खाल्टेको याचना, अहिले बाढीले बगायो…..

धन्चे (रसुवा) –      उत्तरगया गाउँपालिका-५ खाल्टेका छेकु लामालाई बुधबार बिहानको घटना राम्ररी सम्झनामा पनि छैन । सम्झेर सुनाउने पनि कति । ‘के सम्झने के सुनाउने ?,’ उनी थकित र निराश थिए । यद्यपि अनलाइनखबरको टोलीसँग उनले सकेसम्म १० भदौमा भएका घटना सुनाए । उनी बोलिरहँदा पीडा र आक्रोश दुवै थियो । त्यसदिन उनी सधैं जस्तै मजदुरीमा निस्किएका थिए, पहरेबेसीतिर । टिम्बुरेका एक जना साथीले फोन गरेर डरलाग्दो बाढीको सूचना दिए । उनको बस्तीमा टेलिफोन राम्रो चल्थेन । कसैसँग फोन सम्पर्क हुन नसकेपछि कुदेर बस्ती पुगे । सबैलाइ भाग्न भने । तर, उनको प्रयत्न कतिपनि सफल भएन । ‘एक सेकेन्डमा बस्ती सखाप भयो, दुई सेकेन्डमा बाटोमा हिंडिरहेका मानिस बगे,’ लामा भन्छन् । कसैले कसैलाई सहयोग गर्न सक्ने स्थिति रहेन । बस्तीमा बाढी बगेको तस्वीर खिच्न भनेर केही माथिका सडकमा मोबाइल लिएर उभिएका भीड नै थियो । तर निमेषभरमै उभिएकाहरू बगेको उनले देखे ।

२५७ परिवारका साढे तीन सय बगे:

भोटेकोशी बाढीले बढी क्षति पुर्‍याएको रसुवाका बस्तीहरूमध्ये खाल्टे एक हो । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, बगरमा बसेको बस्ती भएकाले धेरै मानवीय क्षति पुगेको बताउँछन् । बगरमा बसेको बस्ती थियो, बाढीको बहाबले माथिमाथिका बस्ती बगाउँदा उनीहरू जोगिन सक्ने स्थिति रहेन’, उनी भन्छन् । बस्तीबाट कति बगे, कति बचे कुनै विवरण संकलन हुन सकेको छैन । प्रहरी नै बगेको छ । गाउँ पालिकाको कार्यालय भवन बग्दा कुनै रेकर्ड बाँकी छैन । बाँकी छ भने सम्झना मात्रै । सम्झेरै छेकु लामाले भने, ‘हामी २५७ परिवार बगरमा बस्थ्यौं । साढे तीन सय जति सम्पर्कमा छैनन् जस्तो लाग्छ । आफन्तसँग सोधीखोजी गरेर तथ्याङ्क संकलन भइरहको उनी बताउँछन् । छोटो सूचनाका भरमा ज्यान जोगाएकाहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएकाले राम्रो सूचना पाउन नसकिएको उनले बताए । धेरैजसोलाई त्रिशूलीको होल्डिङ सेन्टरमा राखिएको छ । बाँकी रसुवाकै विभिन्न स्थानमा छन् । कति त नातागोताको घर पुगेको स्थानीय बताउँछन् । बस्तीका अगुवा लामा, बस्ती जोगाउन सूचना दिनेदेखि उद्धारमा समेत सरकारले राम्रो भूमिका नखेलेको बताउँछन् । उद्धारमा असाध्यै ढिलो भएको उनी बताउँछन् । मैले सीडीओलाई २१ पटक फोन गरेँ, तर फोन उठेन,’ लामा भन्छन् ।

११ वर्षदेखि बगर छोड्ने संघर्ष:

भोटेकोशीको बगरमा जोखिम जानेरै खाल्टे बस्ती बस्नुमा ११ वर्ष अघिको भूकम्प कारण हो । पुरानो हाकु गाविस ८ र ९ अन्तर्गत पर्ने तिरू र गोगने गाउँलाई भूकम्पले बस्न नमिल्नेगरी क्षति गर्‍यो । भूकम्पबाट ७५ जनाको ज्यान गयो । हिमपहिरो र सुक्खा पहिरोका कारण पनि यो क्षेत्रलाई सरकारी अध्ययनले ‘रेड जोन’ घोषणा गर्‍यो । यसपछि अधिकांश तामाङ समुदाय रहेका गाउँ बासको खोजीमा भोटेकोशी बगरमा बस्न थाले । बर्षेनि बाढीले दुःख दिन्थ्यो । उनीहरू यहाँबाट चाँडो सर्न चाहन्थे । यसका निम्ति ठूलै लडाईं लडेपनि । २०७३ सालदेखि अहिलेसम्म जुनसुकै सरकार आए पनि हामीले सुरक्षित ठाउँ मागिरहेका छौं,’ यो बस्तीका अगुवा छेकु लामा भन्छन्, ‘सिंहदरबारमात्रै १०३ पटक धाइसक्यौं । तर ११ वर्षसम्म हाम्रो समस्या समाधान भएन । सिंहदरबार डेलिगेसन जाँदा हरेक पटक विश्वास दिलाउने काम हुन्थ्यो । तर, उनीहरूको काम नगरी धेरै प्रधानमन्त्री र मन्त्रीहरू फेरिए । स्थायी पुनर्थापनाका लागि केही काम पनि भए । तल्लो बैरीबेसीमा ३४ रोपनी ४ आना जग्गा खरिद गरियो । तर, राष्ट्रिय पुन:निर्माण प्राधिकरणको नाममा रहेको उक्त जग्गा बस्तीका सबै परिवारलाई नपुगेकाले काम अगाडि बढेन । उनीहरू सरकारी जग्गा भएको बगरमै बस्न बाध्य थिए । जोमध्ये धेरै बगेर बेपत्ता भए । स्थानीय शिक्षक प्रकाश नेपाल, भूकम्प पीडितलाई यतिका वर्षसम्म बगरमै राख्नु सरकारको ठूलो गल्ती भएको बताउँछन् । ‘भूकम्पपछि विस्थापित भएका बस्तीलाई खोला किनारमै लगेर बसोबास गराइएको थियो,’ उनी भन्छन्, ‘त्यही कारणले यसपटक ठूलो मानवीय क्षति भयो ।’

हरेक परिवारबाट हराए:

बस्ती पुनर्थापना अभियानका संयोजक छेकु लामा, बस्तीका सबै परिवारले सदस्य गुमाएको अनुमान गर्छन् । उनकै परिवारबाट पनि दिदी, भान्जा, बुवा, आमा तथा दाजुसहित परिवारका ९ सदस्यीय बेपत्ता छन् । २०७२ सालको भूकम्पमा पनि परिवारकी एक भाउजु कृष्णमाया तामाङलाई गुमाएका थिए । अहिले मसँग श्रीमती र दुई बच्चा मात्रै बाँकी छन्,’ उनी भन्छन्, ‘बाँकी सबै टुहुरा भएका छन् ।’ व्यक्तिगत पीडाबीच पनि उनी बस्तीका अन्य परिवारको विवरण संकलन र समन्वयमा जुटिरहेका छन् । बस्तीका १ हजार २०० जनसंख्यामध्ये अधिकांश तामाङ समुदायका थिए । उनीहरू ज्यालादारी मजदुरी, बाख्रापालन, अधियाँ खेती र पर्यटन उनीहरूको मुख्य जीविकोपार्जन थियो । पर्यटन क्षेत्रमा काम गर्ने करिब सय जनामध्ये ७० जनासँग अहिले सम्पर्क हुन नसकेको लामाले बताए । तीमध्ये आफ्नै भान्जा र ज्वाइँहरू पनि रहेको उनले बताए । तर, उनीहरूको औपचारिक मृत्यु पुष्टि भने भइसकेको छैन । बस्तीका बालबालिका बोगेडार, उत्तरगया बोर्डिङ, ट्रिनिटी र रामचन्द्र लगायत विद्यालयमा पढ्थे । बाढीपछि तलतिर लगिएका कतिपय बालबालिकाको अवस्थाबारे पनि अझै जानकारी नआएको उनले बताए ।

भेटिएका शव पनि बगे:

बाढीको भोलिपल्ट नै खाल्टेबासीले केही शव भेटेका थिए । अन्त्येष्टिका निम्ति प्रशासनलाई आग्रह गरिएको थियो । स्थानीयका अनुसार पहिचान भएका ८ जनाको शव भेटिएको थियो । तर, प्रहरीबाट मुचुल्का नउठाई दाहसंस्कार गर्न नमिल्ने अडान सेनाले लियो । मुचुल्का उठाउने प्रहरी भएन । मुचुल्का पर्खंदापर्खंदै २ दुईवटा बाहेक अरू शव पनि बाढीले बगायो । ‘हिजो मात्रै प्रहरीले शव उठाउने प्रक्रिया थालेको थियो,’ लामा भन्छन्, ‘तर प्लास्टिकमा प्याक गरिएका शव आजको बाढीले फेरि बगाइदियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार