सुर्खेत – डोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका हुन्। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान स्थानीय गाइडको छ । स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदा समेत पर्यटकहरू जबर्जस्ती उक्त क्षेत्रतर्फ गएको र फर्किने क्रममा हिउँमा फसेको हुन सक्न उनीहरूको बुझाइ छ । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन् । स्थानीयवासीले हिमाल पार गर्न समस्या हुने जानकारी गराउँदा-गराउँदै पनि उनीहरू त्यसतर्फ गएको र अहिले सम्पर्कविहीन भएको उनले बताइन्। शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ को बीचमा रहेका उक्त पासहरूमा फोन सम्पर्कसमेत नहुने समस्या छ। सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनले बताए।
डोल्पामा २४४ पर्यटक:
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन्। प्रतिकूल मौसमका कारण प्रशासनले पर्यटकहरूलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। यसअघि डोल्पाको शे–फोक्सुन्डो ताल क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जना पर्यटकले फोक्सुन्डो तालको भ्रमण गरेका थिए।
खोजीका लागि हेलिकप्टर माग:
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले पछिल्लो जानकारीअनुसार पनि ६ जना भारतीय पर्यटक सम्पर्कमा नआएको बताए। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए। अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको छ। फोन सम्पर्क नहुने क्षेत्र र बाक्लो हिउँका कारण पर्यटकहरू कुन अवस्थामा छन् भन्ने यकिन हुन सकेको छैन। सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्। उनीहरू फोक्सुन्डो ताल भ्रमणका लागि धाेवाट आउँदै थिए । उनीहरूको अवस्था पत्ता लगाउन तथा उद्धार नेपाली सेनाकाे टाेली समेत खटिएकाे प्रजिअ हमालले बताइन् ।साभार : अखप












