दैलेख– कर्णालीको यस्तो क्षेत्र हो, जहाँ अहिलेसम्म नेकपा माओवादीले कुनै पनि चुनाव (स्थानीय, प्रदेशदेखि प्रतिनिधि) जित्न सकेको छैन । क्षेत्र नम्बर १ मा २०७९ को स्थानीय तहको चुनावमा दुई वटा स्थानीय तह चुनाव जित्दा क्षेत्र नम्बर–२ अहिलेसम्म माओवादीका लागि ‘अन–टेस्टेट’ क्षेत्र हो । यहाँ ०५१ सालभन्दा अघि नेमकिपा–कांग्रेस र त्यसपछिका चुनावमा एमाले–कांग्रेसबिच चुनावी भिडन्त हुँदै आएको छ । ६० को दशकपछि यो क्षेत्रलाई एमालेले आफ्नो किल्लाजस्तै बनायो । २०७९ को चुनावमा आउँदा गठबन्धनको बलमा प्रतिनिधि सभातर्फ कांग्रेसका दीक्पालकुमार शाहीले एमाले गढ भत्काए । करिब ३० वर्ष कांग्रेस–एमालेले चुनावी मैदान बनाएको यो क्षेत्रमा अहिले यी दुवै दल असुरक्षित महसुस गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि ११ जना यहाँ चुनावी मैदानमा छन्, तर प्रतिस्पर्धा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच त्रिपक्षीय हुने देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुरानै दलका भोट क्षति गर्न सक्ने आकलन गरिएको छ । विशेषगरी नेकपा र रास्वपाका उम्मेदवारका कारण कांग्रेस–एमालेका उम्मेदवारलाई तनाव छ भन्दा फरक नपर्ला । कारण, एमाले–कांग्रेसले पुरानै अनुहारलाई उम्मेदवार बनाउँदा नेकपा र रास्वपाबाट बौद्धिक व्यक्ति र इन्जिनियरहरू मैदानमा उत्रिनु ।साभार : रापा












