काठमाडौँ – काठमाडौँको मुटु भएर बग्ने बागमती नदीसँगै कति कथा बगे, आँसु बगे, निराशा बगे, त्यसको कुनै हिसाब निकाल्न सकिँदैन । शुक्रबार दिउँसो साढे ३ बजेतिर बल्खुको वंशीघाट नजिकै बागमतीको धमिलो पानीमा तैरिरहेको ६१ वर्षीय इन्द्रबहादुर राईको निर्जीव शरीरले यस्तैमध्येको कथा छोडेर गएको छ । काठमाडौँको विकास, सुकुमबासीको संघर्ष र पीडा अनि एक गरिब नागरिकको अस्तित्वको प्रश्न पनि । खोटाङबाट काठमाडौँ छिरेका इन्द्रबहादुरका लागि यो सहर कहिल्यै आफ्नो हुन सकेन । बल्खुको साझा पेट्रोल पम्पभन्दा केही अगाडि, जहाँ बागमतीको दुर्गन्ध र सहरको कोलाहल मिसिन्छ, त्यहीँको वंशीघाट सुकुमबासी बस्ती नै इन्द्रका लागि सारा संसार थियो । इन्द्रबहादुर उही थिए, जो दिनभरि फलफूल र तरकारीका भारी बोकेर सहरको पेट भर्थे, तर रात परेपछि आफ्नै लागि एउटा सुरक्षित छानो जुटाउन सक्दैनथे । छिमेकीहरूका अनुसार इन्द्रबहादुरको पारिवारिक जीवन पनि बागमतीको भँगालो जस्तै छिन्नभिन्न थियो । उनकी श्रीमती र तीन छोरीहरू एक ठाउँमा बस्थे भने छोरा कहिले कता, कहिले बस्तीको छाप्रोमा देखिन्थे । इन्द्रबहादुर भने लामो समयदेखि परिवारबाट अलग्गै बागमती किनारको एउटा सानो छाप्रोमा आफ्नो एक्लोपनसँगै जुधिरहेका थिए । उनले हिजो (बिहीबार) मात्रै छिमेकीहरूसँग भनेका थिए ‘यहाँ कसले डोजर चलाउँछ, हेरौँला । महानगरले सुकुमबासी बस्तीमा डोजर चलाउने हल्ला चलेसँगै उनी विक्षिप्त बनेका थिए । रक्सीको नशामा उनी अक्सर ठुलो स्वरले कराउने गर्थे । शुक्रबार बिहानसम्म पनि उनी बस्तीमै देखिएका थिए । छिमेकीहरूसँग ‘डोजर’ को प्रसङ्ग निकालेका थिए । दिउँसो साढे ३ बजेतिर स्थानीयले बागमतीको पानीमा एउटा मान्छे बग्दै आएको देखे । जब मानिसहरूले उनलाई किनारमा निकाले, तब थाहा भयो तिनै इन्द्रबहादुर राई थिए । उनको शरीरमा अब न कुनै डर थियो, न त डोजरको त्रास । थियो त मृत शरीरमा केवल बागमतीको चिसो पानी र सन्नाटा । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन भट्टराईका अनुसार घटनाको अनुसन्धान भइरहेको छ र शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । तर पोस्टमार्टमको रिपोर्टले उनको मृत्युको प्राविधिक कारण त बताउला, तर ती सामाजिक र मानसिक कारण कहिल्यै खोतल्ने छैन । जसले उनलाई नदीमा हाम फाल्न वा खस्न बाध्य बनायो । के पोस्टमार्टम रिपोर्टले इन्द्रको मनमा रहेको डोजरको डरलाई मापन गर्न सक्ला ? के त्यसले वर्षौँदेखि भारी बोकेर थाकेका उनका काँधहरूको पीडा बुझ्ला ? सायद कहिल्यै बुझ्दैन । बस्तीका एक छिमेकीले मलिन अनुहार पार्दै भने, ‘उनी सधैँ भारी बोक्थे, बेलुका रक्सी खान्थे । तर पछिल्लो समय अलि धेरै नै खान थालेका थिए । इन्द्रबहादुरले सधैं ‘किनारा’को जीवन बाँचे, किनकि जो खोलाको किनार मात्रै होइन, राज्यको पनि किनारकै नागरिक बन्न विवश थिए ।साभार : रापा












