१९ अप्रिल, हङकङ– संखुवासभा समाज हङकङद्धारा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आइतबार जोर्डनस्थित एभरेष्ट रेष्टुरेण्टमा समाजको ‘३० औं वार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम–२०२६’ सम्पन्न गर्यो ।
समाजका अध्यक्ष लिलाबहादुर गुरुङ,
प्रमुख अतिथि नेपाली महावाणिज्यदुतावास हङकङका वाणिज्यदुत डा.विन्देश्वर प्रसाद लेखक, विशिष्ट अतिथिहरु याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष नविन सुहाङ लगायत समाजका सल्लाहकार तथा अन्य अतिथिहरुद्धारा एकसाथ पटेका पड्काएर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा समाजको मुखपत्र ‘हाम्रो संखुवासभा’ वर्ष–२०, अंक–१६ विमोचन समेत गरिएको थियो ।
त्यस लगत्तै समाजको ३० औं वार्षिक उत्सवको अवसरमा संखुवासभा जिल्लाको परिचयसंगै १९९६ मा समाज स्थापना भएयता समाजले गरेका महत्वपूर्ण कार्यहरुलाई समेटेर ज्याप स्टुडियोका विक्रम गुरुङद्धारा निर्देशन गरी निर्माण गरिएको करिब २० मिनेट लामो डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।
समाजका सचिव मणि सेखर गुरुङले संचालन गरेको औपचारिक कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) ले श्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि डा.विन्देश्वर प्रसाद लेखक, सभापति लिला बहादुर गुरुङका साथै महासंघका अध्यक्ष नविन सुहाङ, डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, समाजका सल्लाहकारहरु दाजु गुरुङ, राज कुमार राई लगायतले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
हङकङका विभिन्न सेकेण्डरी तथा युनिभर्सिटीमा अध्ययनरत आधा दर्जन बढि संखुवासभाली विद्यार्थीहरुलाई नगद तथा सम्मान–पत्र सहित ‘शैक्षिक प्रोत्साहन पुरस्कार’ द्धारा सम्मान गरिएको कार्यक्रममा १९९६ मा समाज स्थापना भएयताका समाजका अध्यक्षहरुलाई समेत ताम्र–पत्रद्धारा सम्मान गरिएको थियो ।
समाजलाई विशेष योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान–पत्र सहित सम्मान गरिएको कार्यक्रममा समाजका नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गर्नुका साथै समाजको सांस्कृतिक विभाग प्रमुख मेञ्जिला गुरुङद्धारा संचालन गरिएको सांस्कृतिक कार्यक्रममा जिल्लाबासी भाइबहिनीहरुले सुन्दर नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले २०२१ देखि हङकङबासी संखुवासभालीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।
तस्विरहरु– सौजन्य ज्याप फोटो स्टुडियो













