हङकङ, ६ अगस्ट- पाकिस्तानस्थित विश्वको १२औं अग्लो ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) र उहाँको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको सम्झनामा हङकङमा एक श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (एचके नुट्रा) को आयोजना तथा जोर्डनस्थित याक्थुङ चुम्लुङको निःशुल्क हलमा आयोजित शोक सभामा दिवंगत आत्माहरूको
चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन, पुष्पगुच्छा अर्पण र एक मिनेटको मौनधारण गरिएको थियो।
कार्यक्रममा आयोजक संस्थाकी सहसचिव सुष्मा गुरुङले दुर्घटनामा ज्यान गुमाएका नेपाल, अमेरिका, ओमान, पाकिस्तान र चीनका १० जना आरोहीहरूको शोकपूर्ण जीवनी वाचन गर्नुभएको थियो। यस दुःखद दुर्घटनामा नेपालका तर्फबाट अभियानका नेतृत्वकर्ता निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाले ज्यान गुमाउनुभएको छ। यसैगरी, अमेरिकाकी मेलोरी गेइस, ओमानकी नाधिरा अल हार्थी, पाकिस्तानका सोहिल साखी र चीनका वाङ झोङ पनि यसै हिमपहिरोमा अस्ताउनुभएको छ।
शोक मन्तव्य राख्दै नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङले राज्यस्तरबाट हुनुपर्ने शोक कार्यक्रम एक संस्थाको अग्रसरतामा हुनु सराहनीय भएको बताउनुभयो। त्यस्तै, एचके नुट्राका सल्लाहकार राजकुमार राईले विश्वविख्यात आरोही निर्मल पुर्जाको वैश्विक योगदानको उच्च कदर गर्दै हङकङमा पहिलोपटक यस्तो शोक सभा आयोजना गरिएको बताउनुभयो। उहाँले पुर्जा एक कुशल पर्वतारोही मात्र नभई सफल लेखक, मोडल, सामाजिक अभियन्ता र बेलायती गोर्खा सेनाको विशेष फोर्सका पूर्वसैनिक समेत रहेको स्मरण गराउनुभयो।
विदेशी पर्वतारोहीहरूलाई नेपाल भित्र्याएर देशको अर्थतन्त्रमा अर्बौं रुपैयाँ रोयल्टी भित्र्याउन पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै साहसिक व्यक्तित्व पुर्जालाई नेपाल सरकारले ‘राष्ट्रिय विभूति’ घोषणा गर्नुपर्ने मागसहितको अनुरोध पत्र पठाइने आयोजक संस्थाले घोषणा गरेको छ।
किशोर सेलिङ लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सगरमाथा आरोही राज गुरुङ, चन्द्रकला राई, याउ चि मङ डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ, एनआरएनए हङकङका अध्यक्ष अनु राई, सल्लाहकार गोकर्ण ढकाल, याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शमशेर तुम्बाहाङ्फे, खोटाङ समाजका अध्यक्ष पेङ किरात, लोहोरुङ राई समाजका अध्यक्ष धर्म बहादुर राई, व्यवसायी तथा समाजसेवी टंक राना, कुल प्रसाद गुरुङ, श्याम इङ्नाम, साहित्यकार डीबी पालुङ्वा, जानु काम्बाङ लिम्बू, बालिका वान्तावा र बिसु समलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, अल्ट्रा ट्रेल धावक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
Photo- HK Nepal & Bajra Kumar Rai













