काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नयाँ राजनीतिक शक्तिको संगठनात्मक विषयबारे छलफल गर्ने थलोमा मात्रै रहेन । नेपाली समाजको समस्या के हो ? समस्याको पहिचान कसरी गर्ने, समस्या समाधानका उपाय के कस्ता हुन सक्छन् भनेर विचार विमर्श भए । साथै, जनताले रास्वपालाई दुई तिहाई नजिकको मत दिनुको कारण पनि खोज्ने प्रयास वक्ताहरूले गरे । रास्वपालाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा आफैँ उपस्थित भए । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन आ–आफ्ना पार्टी प्रतिनिधि भएर गए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत शुभकामना दिन चितवन पुगे । रास्वपा २०७९ साल असार ७ गते जन्मिएको पार्टी हो । छोटो समय र पहिलो महाधिवेशन नगर्दै रास्वपाले प्रतिनिधिसभामा दुई तिहाइ नजिकको जनमत प्राप्त गरेको छ । लामो राजनीतिक इतिहास बोकेका दलहरू विपक्षमा खुम्चिएका छन् । यस पृष्ठभूमिमा भएको महाधिवेशनमा रास्वपाको सफलता र त्यसपछाडिका कथाहरूको चर्चा पाए । विपक्षी दलका वक्ताहरूले प्राप्त जनमतको ख्याल गर्न रास्वपालाई ख्याल खबरदारी गरे । रास्वपालाई शुभकामना दिने क्रममा कांग्रेस सभापति थापाले नेपालकै विगत सम्झिए, ‘नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ । इतिहासमा तीन चार पटक, एक पटक यस्तै खालको जनमत, बाँकी समयमा यस्तै– यस्तै खालको जनमत नेपालका राजनीतिक पार्टीहरूले प्राप्त गरे । कांग्रेस सभापति थापाले भने जस्तै २०१५ सालको चुनावमा नेपाली कांग्रेसले दुई तिहाइ मत पाएको थियो । तर उक्त प्रतिनिधि सभा लामो समय चलेन । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए र निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । कतिपयले यो घटनालाई तत्कालीन राजा राजा महेन्द्र र कांग्रेसका संस्थापक सभापति तथा तत्कालीन प्रधानमन्त्री बीपीबीचको टकरावसँग जोडेर हेर्ने गरेका छन् । २०४६ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछिको २०४८ को चुनावबाट सबैभन्दा ठूलो शक्तिको रुपमा उदायो । तर कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र गणेशमानकोबीच टकराव भयो । कांग्रेसका तीन नेताहरू देखामा परेको टकराव र अहंकारले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल काम गर्न दिएन । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरेका थिए । २०६२/०६३ सालको जनआन्दोलनले राजतन्त्र फालिदियो । २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । यो संविधान सभामा तत्कालीन नेकपा माओवादीले बहुमत प्राप्त गर्यो । ९ महिना भन्दा बढी सरकारको नेतृत्वमा रहन सकेन । नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र मिलेर २०७४ सालको चुनाव लडे । दुई तिहाइ नजिकको मत पाए । तर त्यसबेला पनि नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका नेताहरूको टकराबले प्रतिनिधिसभा पूरा कार्यकाल चल्न सकेन । विगतमा जनताले कुनै दललाई दुई तिहाइ नजिकको मत दिएर पनि राजनीतिक स्थिरता किन पाउन सकेनन् भनेर ख्याल गर्न रास्वपालाई कांग्रेस सभापति थापाको सुझाव छ । तर विगतमा हरेक पटक त्यो जनमत (स्पष्ट बहुमत) दुर्घटनामा पर्यो । किन पर्यो ?’ थापाले आफैँ जवाफ दिएका छन्, ‘जुन राजनीतिक दलले जनमात प्राप्त गरे त्यो दलको नेताको अहंकारको कारणले दुर्घटनामा पर्यो । शक्तिको सीमा बुझेनन् । अप्रजातान्त्रिक व्यवहार गरे । यसपटक रास्वपाले पाएको जनमत फेरि दुर्घटनामा नपरोस् भन्ने शुभकामना दिँदै सभापति थापाले भनेका छन्, ‘रास्वपामा यी दुइटै कारण नदोहोरियोस् ।साभार : अखप












