बेलगाम सांसद, प्रश्न सोध्ने नागरिकलाई उल्टै धाकधम्की…..

काठमाडौं –      सांसदहरू नागरिकका आवाज सुन्न निर्वाचन क्षेत्र जान्छन् । मन्त्रीहरू देशैभर अनुगमनमा पुग्छन् । यो स्वाभाविक र आवश्यक प्रक्रिया हो । तर कतिपय सांसदहरू नागरिकका प्रश्नको जवाफ दिनुको साटो उल्टै प्रतिप्रश्न गर्छन् । धम्क्याउँछन् । सरकारी कर्मचारीलाई समेत हप्कीदप्की गर्छन् । यसको पछिल्लो उदाहरण हो– रास्वपा सांसद केपी खनालको ‘जाक्दिने’ धम्की । भिडियोमा सांसद खनाल औंला ठड्याउँदै ‘कल्ले भन्यो ! प्रमाण छ ? हाल्छु, जाक्छु अहिले समाएर अनि थाहा हुन्छ’ भनिरहेका देखिन्छन् । उनीसँगै रहेका अन्य व्यक्तिहरू प्रमाणबिनाका आरोप नलगाउन आग्रह गरिरहेका सुनिन्छन् । सांसद खनालले ‘जाक्दिन्छु’ भनेर धम्क्याएका व्यक्ति हुन्– कैलालीस्थित लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापा । सार्वजनिक भिडियो लम्कीचुहा अस्पतालको सेवा विस्तार र समस्यामाथिको छलफलको एउटा अंश हो । अस्पतालकै विषयमा छलफल गर्न बोलाइएको थियो । हामीले पाँच महिनादेखि काम गर्ने वातावरण छैन भनेर सहजीकरण गरिदिन आग्रह गर्‍यौं,’ थापा भन्छन्, ‘सुरक्षाको विषय छ । गृह मन्त्रालय के हेरेर बसेको छ ? भनेर प्रश्न गरेँ । उहाँ आवेशमा आउनुभयो र त्यस्तो बोल्नुभयो । १४ असार २०८३ मा प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले लम्कीचुहा अस्पताल सञ्चालनको विषय उठाएका थिए । प्रदेश र स्थानीय सरकार नेपाली कांग्रेसको भएकाले उसैले अवरोध गरिरहेको आरोप लगाएका थिए । यहाँ सदनमा तपाईंहरू पटक–पटक सरकारले यो गरेन, त्यो गरेन भनेर आफू बेन्चमाथि उठ्नु हुन्छ, तर तपाईंकै स्थानीय तहको सरकार र प्रदेश सरकारले लम्कीचुहा अस्पतालमाथि गरेको अन्यायलाई तपार्इंहरूले कहिले सदनमा बोल्नु हुन्छ ? प्रतिनिधिसभा बैठक स्थगित भएपछि सांसद खनाल त्यहीँ पुगे र समस्या सुन्न छलफल राखे । त्यस क्रममा प्रदेश सरकारले अस्पताल चलाउन सक्दैन भने संघ सरकारले चलाउने बताए । जवाफमा आफूहरूले अस्पताल जसले चलाए पनि चल्नु पर्‍यो भनेर राखेको थापाले सुनाए । ‘त्यसो भए हाम्रो दल रास्वपा पहिलो दल हो । हामीलाई व्यवस्थापन समितिको अध्यक्ष दिनुस्, हामी चालाउँछौं भन्नुभयो,’ थापाले भने । उनका अनुसार व्यवस्थापन समितिको कार्यकाल तीन वर्षको हुन्छ । गत चैतमा व्यवस्थापन समिति बनेको हो । उनी भन्छन्, ‘यदि संघीय सरकारले चाहे व्यवस्थापन समिति आफैँ हेरफेर गर्न सक्छ । मन्त्रिपरिषद्ले निर्णय गरेर फेर्न सक्छ, नयाँ आउन सक्छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार