काठमाडौं – सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो । पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो । सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो । सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए । २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । उनलाई के कारणले पदमुक्त गरेको भन्नेबारे सरकारले जवाफ दिएको छैन । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले उनलाई जिम्मेवारी हेरफेर मात्र गरिएको बताएका छन् । गत साता पत्रकार र मिडियाका कार्यालयहरूमा प्रहरी परिचालन गरी घरपकड गरिएको थियो । उक्त काममा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको दबाबमा भएको थियो । गैरकानुनी गिरफ्तार गर्ने लगायतका निर्देशन आइजीपी कार्कीमाथि सचिावलयले नै दिएको खुलेको थियो ।साभार : अखप












