सुक तुम्रोक
आस्फोर्ड केन्ट बेलायत, नोभेम्बर १५, २०२६।
किरात धर्म तथा राष्ट्रिय साहित्य उत्थान संघ बेलायतको आयोजनामा राष्ट्रिय विभूति, किरात धर्मका महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती बेलायतको केन्टस्थित आस्फोर्ड मा भव्य रूपमा सम्पन्न भएको छ। सन् २०२६ नोभेम्बर १४ तारिख शनिबार सेन्ट साइमन चर्च,आस्फोर्ड मा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङ ज्यु को अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड का अध्यक्ष मोहन सोदेम्बा विशेष अतिथिका रूपमा उपस्थित रहेको उक्त कार्याक्रम लाई उपाध्यक्ष निर्मल परङवा ज्यु ले स्वागत मन्तब्य गर्नु भएको थियो ।

कार्यक्रमको पहिलो चरणमा अष्टम पूजा आयोजना गरिएको थियो। त्यसपछि प्रमुख अतिथि कमला सेन्दाङ लिम्बू रअध्यक्ष राजेन्द्र खिम्दीङ ज्यु को बाहुलीबाट दीप प्रज्वलन गरी औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा फोक्टन च्याब्रुंग टोलीले स्वागतस्वरूप माङलाङ नृत्य प्रस्तुत गरेको थियो।
महागुरु फाल्गुनन्दको जीवनी उपाध्यक्ष लाल लिङ्देन ज्यु ले प्रस्ट्याउनु भएको थियो समाजमा सत्य, अहिंसा, नैतिकता, सद्भाव र सामाजिक सुधारका लागि पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँका विचार, दर्शन र शिक्षालाई नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले जन्मजयन्ती मनाइएको थियो।
विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व हरूलाई सम्मानित
यसै अवसरमा संस्थाले भाषा, साहित्य, समाजसेवा, संस्कृति तथा गीत–संगीतलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको थियो। सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएबापत भीमराज तुम्बाहाम्फे र डम्बर सिङ्गक सम्मानित हुनुभएको थियो। त्यसैगरी लिम्बू भाषा प्रचारप्रसार तथा भाषा–साहित्यको क्षेत्रमा योगदान पुर्याउनुभएका छत्र वनेमलाई सम्मान गरिएको थियो।
लिम्बू संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रशिक्षणमार्फत नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकामा शिखर सम्बाहाम्फेलाई पनि सम्मान गरिएको थियो। नेपाल बाट आउनु भएका, गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउनुभएका गायक राजेन्द्र केरुङलाई सम्मानका साथमा केहि नगद प्रदान गरिएको थियो।
त्यस्तै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। संस्थालाई लामो समयदेखि निरन्तर सहयोग र साथ दिँदै आउनुभएका गोर्खा भिल्ला आस्फोर्डका सञ्चालक डम्बर खजुमलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। यसैगरी ७५ वर्षभन्दा माथिका १० जना ज्येष्ठ नागरिकलाई मायाको चिनोस्वरूप ‘मिक्तोक’ प्रदान गरी सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकप्रति सम्मान र आदर प्रकट गर्ने संस्थाको यो कार्यले कार्यक्रमलाई थप भावनात्मक र अर्थपूर्ण बनाएको थियो।
किरात पहिचान, भाषा र संस्कृतिको संरक्षणमा जोड
महागुरु फाल्गुनन्दको जन्मजयन्ती केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई लिम्बु किरात समुदायको मौलिक पहिचान, भाषा, लिपि, संस्कार, संस्कृति र ऐतिहासिक विरासतको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत लिइन्छ।
बेलायतमा रहेर पनि आफ्नो धर्म, संस्कार, संस्कृति र मौलिक पहिचानको संरक्षणमा सक्रिय रहँदै आएको नेपाली तथा किरात समुदायको सहभागिताले यस्ता कार्यक्रमले आपसी एकता, सद्भाव र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। महागुरु फाल्गुनन्दका सत्य, शान्ति, अहिंसा, मानवता र सामाजिक सद्भावका सन्देशलाई आत्मसात् गर्दै उहाँको विचार र दर्शनलाई विश्वभर फैलाउने प्रतिबद्धतासहित १४२औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको हो।सचिव चरपे फुरुम्बो द्वारा कार्यक्रम संचालन गरिएको थियो ।












