१२१ औं साहित्य श्रृंखलामा गीता अधिकारीको ‘सुमेरु’ गजल संग्रह सार्वजनिक

  टोपबहादुर याक्खा

२५ जुन, हङकङ– साहित्य श्रृंखलाकी निर्वतमान सह–संयोजक गीता अधिकारी ‘जून’ को गजल संग्रह ‘सुमेरु’ सार्वजनिकसंगै उक्त कृतिमा समाहित कृतिहरु वाचन तथा कृति माथि टिप्पणी गर्दै आइतबार १२१ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल, पोखरा निवासी हङकङ साहित्यिक साझा श्रृंखलाकी निवर्तमान सह–संयोजक समेत रहकी साहित्यकार गीता अधिकारी ‘जून’ को केही पहिले मात्रै पोखरामा विमोचन गरिएको गजल संग्रह ‘सुमेरु’ सार्वजनिक गरिएको थियो । ‘सुमेरु’ सार्वजनिक गरेसंगै श्रृंखलाकी निवर्तमान संयोजक एवं वर्तमान सल्लाहकार सुनिता गिरी, पुर्व सह–संयोजक तथा वर्तमान सल्लाहकार पूर्णिमा शाह, श्रृंखलाकी सह–संयोजक अरुणा शर्मा, कार्यक्रम संचालक समेत रहेका साहित्यकार रोशन यक्सो लगायतले उक्त कृतिमा समाहित गजलहरु वाचन गरेर सुनाएका थिए भने श्रृंखलाका संरक्षक दाजु गुरुङले गजल संग्रह ‘सुमेरु’ माथि टिप्पणी राख्दै श्रृंखला परिवारको तर्फबाट सर्जक गीता अधिकारी प्रति बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
जोर्डनस्थित गोर्खा क्लब एण्ड रेष्टुरेण्टमा आयोजित कार्यक्रममा हङकङका पुराना कवि तथा साहित्यकार प्रदिप कन्दङ्वाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको हाल चर्चित ‘हरिनन्द र माटो’ कविता वाचन गर्दै कवितामा उठाइएका विषयवस्तुहरु इतिहासविदहरुले विभिन्न समयमा उठाएका र पुस्तकहरुमा समेत छापिएको भएता पनि ‘हरिनन्द र माटो’ कवितालाई केहि व्यक्ति विशेषहरुले विभिन्न नकरात्मक टिकाटिप्पणी गर्दै हाल पाठ्यपुस्तकबाटै हटाउन प्रपन्च गरिदै आएको प्रति असन्तुष्टि जनाउँदै कविता कति शक्तिशाली हुन्छ भनेर यसैबाट पनि बुझ्न सकिन बताए । कार्यक्रममा नारायण भण्डारी, डोम राना, इन्द्र राना लगायतले आफ्ना नयाँ सृजनाहरु वाचन गरेर सुनाएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको साहित्य श्रृंखलाले आगामी अगष्ट २७ मा ११ औं वार्षिकोत्सव मनाउनुका साथै हङकङबासी साहित्यकारहरुको सृजनाहरु समेटेर ‘श्रृंखला–६’ कृति समेत प्रकाशन गरी विमोचन गर्न गइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार