हाइप्रोफाइल फुटबलर नेपाली ‘म्याराडोना’……….

०१ जेठ २०७५,  काठमाडौं–एउटा जमाना थियो, जतिबेला नेपाली खेलकुदका हर्ताकर्ता थिए लक्ष्मण विक्रम शाह । हर्ताकर्ता यो मानेमा कि, स्याङ्जा आरुखर्कमा राज्य चलाएका खेमविक्रमका छोरा लक्ष्मणले १३ बर्षसम्म राष्ट्रिय खेलकुद परिषद्को चिफ कोचको भूमिका निर्वाह गरे । तिनै चिफ कोचका जेठो सन्तान मणि विक्रम शाहले नेपाली फुटबल मैदानमा ‘खत्रा खेलाडी’को रुपमा लामो समय राज गरे । मणि भन्थे, ‘म बुबाकै प्रेरणाले फुटबलमा लागें ।’ बाबुको प्रेरणाले फुटबल खेल्न थालेका मणिले नेपाली मैदानमा मात्र हैन, विदेशी भूमिमा पनि ‘चमत्कार’ नै देखाएका थिए । नेपाली फुटबलका ‘म्याराडोना’ भनेर चिनिने तिनै शाहको सोमबार साँझ नर्भिक हस्पिटलमा निधन भएको छ । अखिल नेपाल फुटबल संघमा दुई दशक राज गरिसकेका गणेश थापा र मणि विक्रम शाहले धेरै बर्षसँगै फुटबल खेले । मणिले मनाङ–मस्र्याङ्दीबाट क्लब फुटबल शुरु गरेका थिए । लडाकु स्वभावका मणि फुच्चेमा बक्सिङमा रुचि राख्थे । ‘बुबाले बक्सिङ नखेल भन्नुभो,’ मणिले दायाँ हातको मुठ्ठी सुम्सुम्याए । स्कूले जीवन देखिनै ‘खत्रा खेलाडी’ को पहिचान बनाएका मणि १३ बर्षको उमेरमै बैंककमा भएको प्रिन्सेस कपको लागि सेलेक्सनमा परिसकेका थिए । ‘प्रिन्सेस कपको फाइनलसम्म पुग्दा मैले आठ गोल हानिसकेको थिएँ,’ शाहले कालधारा चोकको होटलवाट बाहिरतिर आँखा लगाए, जहाँ केही गौथलीहरु आफ्नै शुरमा चिरबिराइरहेका थिए । दरबारसँग नजिकको साईनो भएका मणि शाह मैदानमा हाईप्रोफाईल खेलाडीको रुपमा चिनिन्थे । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान शाह पछिल्लो सयम फुटबल शुद्धीकरण अभियानका लागेका थिए ।

‘नेपाली म्याराडोना’

मणि शाहको फुटबल कलाको बखान शब्दमा जति उतार्न खोजे पनि त्यो अपुग नै हुन्छ । मणिको बाँया खुट्टाले जब बल भेट्टाउँथ्यो, त्यसपछिको ड्रिब्लिङ शैली र गोल गर्ने स्टाईल विश्व फुटबलका हस्ती म्याराडोनासँग ठ्याक्कै मिल्थ्यो । त्यसैले त शाहले बल क्याप्चर गरेपछि दर्शकहरु चिच्याउँथे ‘म्याराडोना म्याराडोना…!’ नेपाली खेल पत्रकारितामा लामो समय बिताएका पत्रकार नविन अर्यालले मणिलाई ‘नेपाली म्याराडोना’को उपमा दिएका थिए । आज पनि शाह नेपाली फुटबलमा ‘नेपाली म्याराडोना’को उपनामले चिनिन्छन् । मणिको निधन भएको खबर पाएसँगै खेल पत्रकार नविन अर्याल भन्दै थिए, ‘मणि शाहलाई भगवानले फुटबल खेल्न पठाएको हो ।’ मणिले कहिल्यै आफुलाई म्याराडोना हुँ भन्ने घमण्ड पालेनन्, तर फुटबल प्रेमीहरुले भनिरहे ‘नेपालका म्याराडोना ।’ सक्रिय खेल जीवनबाट सन्यास लिएपछि लामो समय एन्फा उपाध्यक्षको रुपमा सक्रिय शाह पछिल्लो समय स्वास्थ्य समस्याले थलिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार