गन्तव्य हुँदाहुँदै नयाँ खाेजी………

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदा हुँदै पनि जहाज थन्क्याएर राखेको पाइएको छ। निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ। तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ। निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ। तैपनि भएको स्रोत, साधनको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ। निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन्। तीमार्फत निगमले एक दिनमा ७० घन्टा उडान गर्न सक्छ। तर, अचेल दैनिक सरदर ३४ घन्टा मात्रै जहाज उडिरहेको तथ्यांक छ। उडाउनुपर्नेभन्दा आधा समयमात्रै उडाउँदा पनि जहाजको आम्दानी राम्रै छ। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा दुई वाइड बडी जहाजले दुई अर्ब ४० करोड आम्दानी गरेका छन्। त्यसमा सञ्चालन खर्च दुई अर्ब १२ करोड कटाउँदा २० करोड नाफा छ। त्यसैगरी, न्यारो बडी जहाजको ६ महिनाको आम्दानी दुई अर्ब ३१ करोड छ। सञ्चालन खर्च एक अर्ब ४८ करोड कटाएर ८३ करोड नाफा देखिन्छ। जहाजको अकुपेन्सी सरदर ७८ प्रतिशत छ। निगमले गन्तव्य नभएको भन्दै बोइङ ७३७ जहाज कात्तिकयता उडाएको छैन। निगमका जहाजले भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंककमा उडान गरिरहेका छन्। निगमले यी आठ गन्तव्यमा आइतबार र सोमबार पाँच र अरु बार ६ उडान गरेर साताको ४० उडान गर्छ। जबकि ती गन्तव्यबाट नेपालमा दैनिक ३० हाराहारी उडान हुने गर्छन्। नेपालले उडान गरिरहेका ती गन्तव्यमा सजिलै संख्या थपेर बजार लिन सक्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार सम्झौतामा उल्लेख भएको संख्यामा उडान गर्न कुनै समस्या छैन। अहिले जहाज उडिरहेका गन्तव्यमा दुवै देशले हप्तामा कम्तीमा २८ उडान गर्न पाउने सम्झौतामा उल्लेख छ।नेपाल–भारतकै उडान सम्झौतामा दुवै देशले हप्तामा एक सय ५० हाराहारी (३० हजार यात्रु) उडान गर्न पाउने प्रावधान छ। तर, नेपालले नयाँ दिल्ली १०, बैंगलोर र मुम्बई तीन–तीन गरेर साताको १६ उडान मात्रै गर्छ। जबकि नयाँ दिल्लीबाटै भारतीय वायुसेवा कम्पनीहरु एअर इन्डिया, इन्डिगो र जेट एअरवेजले हप्ताको ६३ उडान गरिरहेका छन्। नयाँ दिल्ली निगमको फाइदा हुने सेक्टरमध्येको एक हो। निगमका जहाज नयाँ दिल्ली उड्दाको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ। नयाँ दिल्लीमा नेपालले सजिलै उडान संख्या थप गर्न सक्छ। तर, निगमका अधिकारीहरु यो वा त्यो बहानामा थप्न चाहँदैनन्, किन? निगमका एक अधिकारी भन्छन्, ‘नयाँ दिल्लीमा उडान संख्या थप्दा एअर इन्डिया, इन्डिगो र जेटको बजार घट्न सक्छ र ती कम्पनीबाट कमिसन लिइरहेका निगमका उच्च अधिकारीहरुको आम्दानी सुक्छ।’ कतारको दोहा, दिल्ली जस्तै फाइदाको सेक्टर हो। निगमका अनुसार दोहाको अकुपेन्सी पनि ९० प्रतिशत हाराहारी छ। दुईतर्फी दोहा उडानमा निगमले करिब दुई करोड आम्दानी गर्छ । तर, कतारमा दैनिक एउटा मात्रै उडान छ। जबकि अन्य कम्पनीका जहाजबाट दोहामा दैनिक पाँच उडान हुन्छन्। नेपालकै हिमालय एयरलाइन्सले दैनिक एक र कतारको कतार एअरवेजले दैनिक चार उडान गर्छन्। प्राधिकरणका उपमहानिर्देशक पोखरेलका अनुसार निगमले चाहेको खण्डमा कतारमा पनि सहजै उडान संख्या थप्न सक्छ। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा निगमले हप्तामा सात उडान गर्छ। युएईको दुबईबाट फ्लाई दुबई, सारजाहबाट एअर अरेबिया र अबुधाबीबाट इतिहादले गरी दैनिक नौ उडान गर्छन्। तर, सोमबारबाट विमानस्थल मर्मतको कारण जेठसम्मको लागि केही उडान कटौती भएका छन्। नेपालबाट भने नेपाल एअरलाइन्स र हिमालयले गरेर सातामा १४ मात्रै उडान गर्छन्। विमानस्थल मर्मतको कारण देखाएर निगमले पनि साताको तीन उडान सोमबारबाट लागू हुने गरी कटौती गरेको छ। सम्झौता अनुसार दुवै देशले सातामा ७०–७० उडान गर्न सक्छन्। मलेसियाको अवस्था पनि उस्तै छ। मलेसियामा निगमले साताको तीन उडान गर्छ। मलेसियाबाट मालिन्दो र मलेसियन एअरलाइन्सले साताको २१ उडान गर्छन्। अझ, ६ महिना अघिसम्म एअर एसियाले पनि उडान गथ्र्यो। मलेसियन वायुसेवाको व्यापार नघटोस् भनेर निगम अधिकारीहरुले आफ्नो उडान नथपेको स्रोतको दाबी छ। नेपालले मलेसियामा हप्ताको २८ उडान गर्न सक्छ। दिल्लीबाट नेपालमा दैनिक सात उडान हुने, मलेसियाबाट दैनिक तीन उडान हुने, युएईबाट दैनिक नौ उडान हुने, निगमले भने त्यहाँ साताको तीन–चार मात्रै उडान गर्ने, किन ?’ निगमकै एक अधिकारीले प्रश्न गरे। अन्य गन्तव्य जस्तै हङकङ, बैंककलगायतमा पनि निगमले उडान थप्न सक्छ। उडान गरिरहेको ठाउँमा थप्न कुनै समस्या हुँदैन। तर, निगमका अधिकारीहरु ती ठाउँमा उडान थप्नुको सट्टा नयाँ ठाउँ खाजेको भन्दै आलटाल गरेर बसिरहेका छन्। नयाँ ठाउँमा प्रक्रिया पु-याएर मात्र उडान अनुमति पाइन्छ। जापानको ओसाका उडान गर्ने योजना बनाएको निगमले अहिलेसम्म अनुमति पाएको छैन। निगमले जापान जस्ता नयाँ गन्तव्य नखोजी साबिककै गन्तव्यमा उडान थप गरेर आम्दानी बढाउन सक्छ। स्रोतका अनुसार न्यारो बडीलाई नयाँ दिल्ली र वाइड बडीलाई दोहा र दुबईमा थप उडाए मात्रै पनि निगमको आम्दानी बढ्ने निगमका एक पाइलट बताउँछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार