मध्य भोटेकोशीको सुरुङबाट पानी निस्किएपछि गुणस्तरमाथि नै प्रश्नैप्रश्न…..

काठमाडौँ — चार वर्षमा पूरा गर्ने लक्ष्यअनुरूप ०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले ११ वर्ष बिताइसकेको छ । निर्माणमा भएको ढिलाइले आयोजनाको सुरुको लागत १२ अर्ब २८ रुपैयाँबाट वृद्धि हुँदै झन्डै २० अर्ब पुगेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजानले यस अवधिमा ब्याज मात्र ५ अर्ब तिरिसकेको छ । लामो प्रयासपछि निर्माण सकेर विद्युत् उत्पादनका लागि ‘वेट टेस्टिङ’ का क्रममा सुरुङ फुटेर पानी चुहिएपछि आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठेको छ । नेपाल विद्युत् प्राधिकरणले बाह्रबिसे नगरपालिकामा सबस्टेसन निर्माण सुरु गरेको सात वर्ष बिते पनि तत्काल पूरा हुने सम्भावना देखिएको छैन । स्थानीयले ट्रान्समिसन लाइन तान्न अवरोध गरेको ९ महिना बिते पनि समाधान हुन सकेको छैन । निर्माण सुरु भएको लामो समय बिते पनि विद्युत् उत्पादन हुनुको साटो आयोजनामाथि नयाँनयाँ समस्या थपिँदै गएका छन् । दिनको ४० देखि ५० लाख अर्थात् मासिक झन्डै १५ करोड ब्याज मात्र तिरिरहेको आयोजनाको समस्या समाधान गर्ने भरपर्दो प्रयास भएको छैन । समस्यै समस्याले घेरिएको आयोजनाको विद्युत् उत्पादनको समय अनिश्चित बन्दै गएको छ । सुरुङमा पानी चुहिएका कारण काम रोकिएको डेढ महिना बिते पनि निर्माणमा संलग्न चिनियाँ ठेकेदारले अब गर्ने कामको प्रस्ताव तयार गरिसकेको छैन । सुरुङ फुटेर पानी जमिन बाहिर निस्केको घटनाले आयोजना निर्माणमा विगतमा उठ्दै आएको गुणस्तरको प्रश्न ब्युँतिएको प्राविधिक बताउँछन् । सुरुङ निर्माण गर्दागर्दै ०७७ मंसिरमा आयोजनाका प्राविधिक कर्मचारी र ठेकेदाबीचको मिलेमतोमा कामको गुणस्तर घटाउने सर्तमा २ करोड घूस लेनदेनको कुराकानी भएको अडियो टेप नै सार्वजनिक भएको थियो । निर्माणका क्रममा लामो समय आन्तरिक झगडामा रुमलिएको आयोजनाको ‘वेट टेस्टिङ’ गत माघ अन्तिम साता सुरु भएको थियो । निर्माणमा भएको ढिलाइले ब्याज बढिरहने तर आम्दानी नहुने दोहोरो नोक्सानी सुरु भएको छ । भोटेकोशी कम्पनीले भने परामर्शदातालाई पत्र पठाएर यस्तो अवस्था आउनुको कारण माग गरेको छ । ‘हामीले परामर्शदातालाई किन यस्तो अवस्था आयो भनेर जानकारी मागेका छौं,’ भोटेकोशी कम्पनी स्रोतले भन्यो । सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गरेर निर्माणमा संलग्न चिनियाँ ठकेदार कम्पनीलाई अगाडि बढ्ने प्रस्ताव तयार गर्न निर्देशन दिएको जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले बताए । लामो सुरुङमा पानी चुहिने समस्या बेलाबेला अन्यत्र पनि भएको उनको भनाइ छ । ‘समस्या पहिचानका लागि नै वेट टेस्टिङ गरिएको हो । विद्युत् उत्पादनका लागि केही समय पर्खनुको बाहेक यसलाई ठूलो समस्या मान्न नहुने उनको तर्क छ । समस्या यकिन गरेर काम सुरु गरेपछि बढीमा दुई–तीन महिनामा काम सकिने उनले शिवाकोटीले जनाए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार