बारले प्रधानन्यायाधीश पराजुलीको बचाउ गर्दै अनसन तोड्न डा. केसीलाई आग्रह

पुस २०७४, काठमाडौं

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । साथै अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ ।

बारले एक विज्ञप्ति जारी गर्दै अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ । आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ समेत गराएको छ । केसीको नाम नलिई भनेको छ, ‘आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’ बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ । उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतज्ध न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’ बार एशोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ । उसले अनसन स्थगित गर्न पनि आग्रह गरेको छ । महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारकेा दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ ।’ बारले पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगातयतका कागजपत्र मगाएकोबारे बोलेको छैन । यसबारे सोध्दा बार अध्यक्ष शेरबहादुर केसीले अनलाइनखबरसँग भने, ‘यसबारे सर्वोच्चले पहिल्यै फैसला गरिसकेको छ । अहिले त प्रमाणका लागि कागजपत्र मगाएको मात्र हो । न्यायिक छानविन हुँदै होइन ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार