बाबुराम भट्टराईको बाटो कता ?

  बगैचा सम्बाददाता

२ माघ, काठमाडौं ।

नयाँ शक्ति पार्टी छाडेर बाग्लुङबाट चुनाव जितेका माओवादी सांसद देवेन्द्र पौडेल पत्रकारहरुसँगको एउटा जमघटमा भन्दै थिए, ‘बाबुरामजी पनि देशलाई चाहिने मान्छे हो, उहाँ पनि वाम गठबन्धनमा आउनुपर्छ, उहाँलाई पनि ल्याइन्छ । आफूहरुले नयाँ शक्तिबाट बाबुराम भट्टराईलाई पनि साथैमा लिएर माओवादी केन्द्रमा फर्कन चाहे पनि नसकिएको पौडेलको भनाइ थियो । तर, समय क्रमसँगै डा. भट्टराईले अलग्गै पार्टी चलाउन नसक्ने र वाम गठबन्धनमै फर्कने पौडेलले विश्वास व्यक्त गरे । गत दशैंका बेलामा वाम गठबन्धनका नेताहरुसँग हातमा हात मिलाएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले निर्वाचनका बेला कांग्रेससँग तालमेल गरे र गोरखा क्षेत्र नम्बर २ बाट विजयी भए । कांग्रेससँग मिलेर चुनाव जितेका डा. भट्टराई र उनको नयाँ शक्ति पार्टीले अब के गर्ला ? कतिपय मानिसहरुले सांसद पौडेलको अपेक्षाजस्तै डा. भट्टराई वाम गठबन्धनमा आउने दाबी गर्छन् । कतिपयले भने कांग्रेससँग मिलेर चुनाव जितेको हुनाले उनी वाम गठबन्धनबाहिरै बस्ने बताउँछन् । नयाँ संविधान बनेसँगै वैकल्पिक राजनीतिक पार्टी बनाउने भन्दै माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेका डा. भट्टराई यसबीचमा अपेक्षाकृत रुपमा सफल हुन सकेनन् । तथापी उनले स्थानीय चुनाव, प्रदेशसभा र प्रतिनिधिसभामा झिनै भए पनि उपस्थिति जनाएका छन् । तर, नयाँ शक्ति भन्दाभन्दै बीचैमा एमाले र माओवादीको गठबन्धनमा केही दिनका लागि मात्रै भए पनि मिसिएपछि डा. भट्टराई अस्थीर नेताका रुपमा आलोचित छन् । उनको यही अस्थिरताका कारण अब डा. भट्टराईले कस्तो भूमिका खेल्लान् भनेर अनुमान गर्न विश्लेषकहरुलाई गाह्रो पर्न थालेको छ । वाम गठबन्धनले बहुमत हासिल गरिसकेको र पाँच वर्ष वाम सरकार बन्ने लगभग पक्काजस्तै देखिएको अवस्थामा डा. भट्टराईसँग अब मुख्यतः दुईवटा विकल्पहरु देखिन्छन् । बाबुरामको पहिलो विकल्प हो- आफू पूर्ववामपन्थी नै भएकाले वाम गठबन्धनमै मिसिनु र अबको पाँच वर्षसम्म सत्तापक्षकै सहयोगीको भूमिकामा रहँदै आर्थिक समृद्धिको नारामा केन्द्रित हुनु । दोस्रो विकल्प हो- देशमा कांग्रेस र कम्युनिष्टहरुले जनताप्रति उत्तरदायी काम गर्न सकेनन् भने त्यसलाई क्यास गर्नका लागि प्रतिक्षारत रहनु र तेस्रो विकल्प (थर्ड पोल) खडा गर्ने आफू पूर्वअभियानमा पाँचवर्षसम्म अडिइरहनु । यसका लागि पाँच वर्षसम्म प्रतिपक्षकै बेञ्चमा बस्न तयार हुनुपर्छ । डा. भट्टराईका सामु अब यीनै दुईवटा विकल्प छन् । यीमध्ये कुन बाटो हिँड्छन्, अहिले नै अनुमान लगाउन कठिन छ । तर, जति नै ‘वाम लोकतान्त्रिक’ धार भनेर सारसंग्रहवादी तर्क गरे पनि डा. भट्टराईका सामु अबको ५ वर्ष सत्तापक्ष वा प्रतिपक्ष भन्दा अर्को बाटो छैन । नयाँ शक्ति बनाएर गरिखान नसकिने रहेछ र यसलाई सेफल्याण्डिङ गर्नु नै उपयुक्त हुन्छ भन्ने लाग्यो भने डा. भट्टराई चाँडै नै पहिलो विकल्पतर्फ जानेछन् र सांसद देवेन्द्र पौडेलले भनेकै कुरा सही ठहरिने छ । तर, दोस्रो विकल्पतिर लागे भने डा. भट्टराई विस्तारै विवेकशील साझा पार्टीसँगको एकता र सहकार्यतर्फको बाटोमा जान सक्ने देखिन्छ । किनभने एक्लाएक्लै वैकल्पिक शक्ति बनाउन खोज्दा कठिन हुने महसुस यी दुबै पक्षले गरिसकेको अवस्था छ । तर, माओवादी ‘स्कुलिङ’ ४/५ वर्ष धैर्य गर्नेभन्दा पनि चाँडो-चाँडो सत्ताको स्वाद चाखिहालौं भन्ने खालको भएकाले त्यसैको छापका आधारमा डा. भट्टराई नेपाली लोककथाको सक्कली ‘राजकुमार दिक्पाल’ बन्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । किनभने, नेपालमा नयाँ वैकल्पिक शक्ति बनाउने बाटो निकै घुमाउरो र लम्वेतान किसिमको हुन सक्छ भन्ने कुरा केही वर्षयताको व्यवहारले स्पष्ट पारिसकेको छ र, डा. बाबुराम भट्टराईको धैर्यतामाथि नजिकै रहेको विगतले प्रश्न उठाएकै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार