
१७ जेठ २०७५, प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो । राजाहरू यही काठमाडौंमा बसेर अधिराज्यभर शासन गर्थे । काठमाडौं जर्मनको चना, बर्माको कालोदाल र फिलिपिन्सको खोर्सानी उपभोग गरिरहेको छ । काठमाडौंमा अहिले पनि सम्पत्ति थुप्रिएको चर्चा हुुन्छ । करिब २५० वर्ष राज गरेका श्रीपेचधारी राजा छैनन् अहिले । तर पनि काठमाडौंले राजधानीको ओज छोडेको छैन । केही वर्षअघि यो लोकतान्त्रिक गणतन्त्रको राजधानी बन्यो र भर्खरै मुलुक संघीय संरचनामा गएपछि काठमाडौं खाल्डो संघीय राजधानीमा रूपान्तरण भएको छ । पछिल्लो परिवर्तन राजनीतिमा एकपछि अर्को गर्दै ‘राजा’हरू उदाउने, सिंहदरबारबाट शासन गर्ने क्रम जारी छ, जारी रहनेछ । प्रत्येक एक–एक दसकमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने नेपालको राजधानी काठमाडांै जहिल्यै पनि शक्ति र सत्ताको केन्द्रमा रहँदै आएको छ । बूढापाकाहरू राजा र देउता बस्ने ठाउँ भन्छन् काठमाडौंलाई । यही राजधानी भएकाले हुनसक्छ पशुपतिनाथले आराध्यदेवको पदवी पाएका छन् । स्वयम्भूका दुई आँखाले पनि यही खाल्डोलाई शताब्दीदेखि नियाल्दै आएका छन् । हो, काठमाडौंमा एक किसिमको आशक्ति छ, सम्मोहन छ– सत्ता र शक्तिका लागि । शिक्षा र स्वास्थ्यका लागि यहाँ आकर्षण छ । उद्यमधन्दा सबैका हिसाबले यो खाल्डोमा रजगज छ, वर्षौंदेखिको र अझै जारी रहने देखिँदैछ । चारैतिर अग्ला पडाडले वेष्ठित मलिलो उपत्यका कंक्रिटको छायाँमा परेको छ । कोलाहल अनुभव हुन्छ जताततै । नदीहरु ढल बनाइएका छन् । सार्वजनिक चौर, चौबाटाहरु मासिँदै छन् । सडक पेटीहरु पैदल यात्रुका लागि होइन व्यापारीको हो । काठमाडौंको शासकीय परिचय समयक्रममा बदलिँदै छ । सत्ता बदलिएजस्तो सबै बदलिएको छ त ? यो प्रश्न खाल्डोमा बस्ने आम नागरिकको दैनिकीसँग सम्बन्धित छ । जहाँ सिंहदरबारमा बस्नेहरूले बोलीबाट सम्बोधन गर्छन्, व्यवहारमा केही गर्दैनन् । यो वर्षौंदेखिको परम्पराले सबैखाले व्यवस्थामा निरन्तरता पाउँदै आएको छ । काठमाडौं उपत्यकामा मल्लकालमा तीनवटा राज्य थिए, काठमाडांै, पाटन र भादगाउँ । अहिले पनि तीनवटै शासकीय किल्ला कायम छन्, काठमाडांै, ललितपुर र भक्तपुर । तीन जिल्लामा विभाजित यो उपत्यकामा २ वटा महानगर छन्, काठमाडौं र पाटन । काठमाडौं, ललितपुर, भक्तपुरमा गरेर १६ वटा नगरपालिका छन् । ललितपुरका पहाडी खोचमा ३ वटा गाउँपालिका छन् । अर्थात् उपत्यकामा सबै स्थानीय तह गाउँबाट उकालो लाग्दै नगर महानगरको यात्रामा छन् । करिब ४० लाख जनसंख्याले भरिएको अनुमान गरिएको उपत्यका समग्रमा काठमाडौं भनेर चिनिन्छ । नगर भन्नुको अर्थ त्यहाँ सहरी जीवनशैलीको प्रधानता हुनु हो । काठमाडौंको दरबारमार्ग, न्युरोडले कस्मोपोलिटन सहरको झलक पस्कन्छन् । कोर सहर भनिने सीमित क्षेत्रबाहेक महानगरको परिधिको बसोबासमा ग्रामीण जीवनमा बाँच्दै, फरक–फरक भूगोलले महानगरको पहिचान पाएका छन् । सहरी जीवन भनेको सेवा सुविधाका दृष्टिले सम्पन्न हुनुपर्ने हो । भौतिक सम्पन्नता र चोक चौबाटा बस्तीहरू सौन्दर्यले भरिभराउ हुनुपर्ने हो । सहर भनेका अवसर हुन् । अवसरको खोजी भइरहेको छ यहाँ । यहाँ अवसर छन् कि छैनन् ? धरातलीय यथार्थता त्रिभुवन विमानस्थलबाट प्रत्येक महिना करिब ५० हजार युवा कामका लागि विदेशिन बाध्य छन् । पाखुरी चलाएर परिवारको दानापानी जुटाउने र पढेर बुद्धि खेलाउन चाहने दुवै खाले मुलुकका अधिकांश युवा देशमा बस्न चाहँदैनन् । पासपोर्ट लिन चाहनेहरूको भीड र कोरियाको कामदार बन्न महिनौं तयारी गरेर भाषा परीक्षामा सामेल हुन किलोमिटर लामो लाम लाग्नेहरू पनि काठमाडौंमै देखिन्छन् । काठमाडांैमा आकर्षण छ वा विकर्षण ? खुट्याउन सहज छैन । चुनाव भयो, जनताले भोट हाले, आफ्ना प्रतिनिधि चुने । चुनिएकाहरु सत्ता चलाउँछन् । तर, मन दिएर संघीय राजनीति संस्थागत गर्न योगदान गर्ने जनताले महँगी उपहार प्राप्त गरेका छन् । नगर नै नगरले भरिएको उपत्यकाका आम जनताको हालत कस्तो छ त ? काठमाडौंका अधिकांश मानिस हतासमा देखिन्छन्, हतारमा छन् उनीहरू । सहरिया हुनुको अर्थ बेफुर्सदी छन् उनीहरू । आम मानिस कसरी प्रताडित छन् लेखाजोखा आवश्यक ठानिँदैन । भौतिक पूर्वाधारको गरिबी जताततै छर्लङ्ग छ । गाउँबाट सहर बन्ने दौडमा रहेका बस्तीहरूमा खानेपानी, बिजुली, बाटोजस्ता आधारभूत पूर्वाधारकै न्यूनता खड्किन्छ । मूल सडक नै हिउँदमा धुलेश्वर र वर्षामा हिलेश्वरमा परिणत हुन्छन् । यो नियति वर्षौंदेखिको हो । अझै वर्षौंसम्म जारी रहने देखिन्छ । चारैतिर अग्ला पहाडले वेष्ठित मलिलो उपत्यका कंक्रिटको छायाँमा परेको छ । कोलाहल अनुभव हुन्छ जताततै । नदीहरू ढल बनाइएका छन् । सार्वजनिक चौर, चौबाटाहरू मासिँदै छन् । सडक पेटीहरू पैदल यात्रुका लागि होइन व्यापारीको हो । सडकको पीच पार्किङ बनाइएको हुन्छ । योजनाविहीन निर्माणको गति तीव्र छ ।












