नेकपाको आन्दोलनको घोषणा, प्रवक्ता विश्वकर्मालाई मुद्दा ७ करोड असुलेको दाबी

  बगैचा सम्वाददाता

काठमाडौ

विना कारण सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख गरिएको छ। आन्दोलनका कार्यक्रम अनुसार साउन २५ गते देशभर कोणसभाको आयोजना गरिने, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्द गरिने उल्लेख छ।

चन्दले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई विनासर्त रिहा गर्न माग गरेका छन्। ओली सरकारले राजनीतिक अधिकारलाई एकपछि अर्को गर्दै प्रतिवन्ध लगाउँदै गरेको उनको आरोप छ। आफ्नो पार्टी अधुरो राजनीतिक अधिकार पुरा गर्ने बाटोमा रहेको बताउँदै चन्दले यसलाई कुल्चने, सिध्याउने र दमन गर्ने दु:सप्न नदेख्न चेतावनी दिएका छन्।

यता सरकारले प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले चन्दा असुली ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। ४९ वर्षीय विश्वकर्मा मंगलबार साँझ दक्षिणकाली १ चाल्नाखेलबाट पक्राउ परेका थिए। उनसँगै बा.१४प. २७२९ नं. को गाडीमा हेटौडाबाट काठमाडौं आइरहेका ५० वर्षीय मन बहादुर श्रेष्ठ र ३३ वर्षीय हरिचन्द्र आचार्यलाई प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर, काठमाडौंबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उद्योगपति, व्यवसायीबाट अवैद्य रुपमा करिब ७ करोड बराबरको रकम चन्दा असुली गरेको पाइएकोले उनीहरुविरुद्ध चन्दा ऐन, २०३० बमोजिमको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी मोहन कुमार थापाले जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार