काठमाडौं
हिरासतमा रहेका पूर्वपर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विकलाई सर्वोच्च अदालते थुनामुक्त गर्न आदेश दिए लगतै प्रहरीले पुन: पक्राउ गरेको छ । सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय चोलेन्द्र शम्शेर जवरा र तेजबहादुर केसीको इजलासले मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा छाड्न आदेश दिएको थियो । अदालतको आदेश लगतै रिहा भएका नेता विकलाई सार्वेच्च परिसरबाटै पक्राउ गरिएको छ । उनीमाथि काभ्रेमा आगजनी र संगठित अपराधको मुद्दा रहेको र सोही मुद्दामा काभ्रे प्रहरीको पत्रका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई काभ्रे प्रहरीमा बुझाउने तयारी भैरहेको काठमाडौं प्रहरीले जनाएको छ । यसअघि विकका छोरा नरेन्द्रबहादुरले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै गत आइतबार सार्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । आइतबार दायर रिटमाथि सोमवार सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले चन्दा उठाएको प्रमाण भएको र जिल्ला अदालतबाट म्याद लिएर नै हिरासतमा राखिएको लिखित जवाफसहित नेता विकलाई हिजोअदालत उपस्थित गराएको थियो । चन्दा ऐन २०३० अनुसार प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियो । जवरजस्ती चन्दा संकलन गरेको आरोपमा प्रहरीको विशेष टोलीले विकलाई काठमाडौंको चाल्नाखेलबाट गत साउन २२ गते पक्राउ गरेको थियो । उनले ७ करोड ५० लाख रुपैयाँभन्दा बढी चन्दा संकलन गरेको देखिएको प्रहरीको दाबी छ । उनको खातामा मात्रै २ करोड रुपैयाँ देखिएको छ ।