युरोप स्तरीय ‘होम स्टार’ प्रतियोगिता आयोजना गरिदै

कोभिड(१९ को महामारीका कारण युरोपियन मुलुकहरूमा लकडाउन संगै घर भित्र बस्न बाध्य स्थानीय नेपाली कलाकारहरूलाई हौसला प्रदान गर्दै उनीहरूका प्रतिभालाई सबै माझ पुर्याउने उदेश्यले युरोप स्तरीय होम स्टार कार्यक्रम सुरु भएको छ ।

लकडाउनको अवस्थामा घरबाट बाहिर जान, भेला हुन, सभा सम्मेलन र प्रतियोगिताहरू आयोजना गर्न निषेध गरिएको छ। यस कठिन अवस्थामा युरोपमा बस्ने सबै प्रतिभावान नेपाली कलाकारहरूलाई एक नयाँ भर्चुअल मंचमा जम्मा गर्दै प्रतिस्पर्धा गराउने रचनात्मक कार्यक्रम ‘होम स्टार’ को अवधारणा अगाडी सारिएको छ । कार्यक्रममा भाग लिन कलाकारहरूले घर बाटै आफ्ना प्रस्तुतीहरू भिडियो मार्फत पठाउनु पर्ने हुन्छ। युरोप भरबाट आउने ति प्रस्तुतीहरू मध्य सबैभन्दा धेरै हेरिएको र लाईक गरिएकोलाई विजेता घोषित गरिने आयोजकहरूले बताएका छन ।

आभाष आचार्य प्रोडक्सन र पेरिसनेपाल डट कमको संयुक्त पहलमा सन्चालन हुने यस कार्यक्रमले लकडाउनमा दिक्क भएका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्दै कलाकारहरूलाई हौसला दिन, यस फुर्सदिलो समयको सदुपयोग गर्दै रचनात्मक कार्यमा नेपालीहरूको ध्यान केन्द्रित गर्न, नेपाली भाषा कला संस्कृतीलाई प्रवासमा प्रवर्द्वन गर्न सबै उमेर समूहलाई कार्यक्रममा सहभागी गराउने उदेश्य राखेको छ ।

गत २६ अप्रिलबाट सुरु भएको कार्यक्रममा हालसम्म युरोपका बिभिन्न देशहरूबाट ४० भन्दा बढी कलाकारहरूका भिडियोहरू प्राप्त भएका छन भने अझै दर्जनौ प्रस्तुतिहरू आउने क्रममा रहेको आयोजकहरूले बताएका छन । प्रतियोगितामा भाग लिन इमेल वा म्यासेन्जर मार्फत आफ्नो प्रस्तुति पठाउनु पर्ने हुन्छ । पहिलो चरणमा ५ जना छानिनेछन । उत्कृस्ट ५ ले पुनः आफ्ना दोस्रो प्रस्तुति पठाउनु पर्ने छ । विजेतालाई पुरस्कार तथा आभाष आचार्य प्रोडक्सनको तर्फबाट नयाँ भिडियोमा प्रमुख कलाकारको रुपमा काम गर्ने अवसर आदि दिइने भएको छ ।

अहिलेको अप्ठ्यारो परिवेशमा यस मनोरन्जनात्मक कार्यक्रमलाई सवै क्षेत्रबाट सकारात्मक रुपमा लिइएको छ । बसन्त ऋतुको सुरुवात संगै आयोजना गरिने बिभिन्न संस्कृतिक कार्यक्रमहरू एकपछि अर्को गर्दै रद्ध भैरहेको अवस्थामा यस भर्चुअल प्रतिस्पर्धात्मक कार्यक्रमले नयाँ सुरुवातको थालनी गरेको छ ।

सामान्य अवस्थामा पनि प्रवासका बिभिन्न देशमा छरिएका कलाकारहरूलाई एउटै मंचमा जम्मा गरेर कार्यक्रम गर्न निकै गार्हो हुने आयोजकहरू बताउने गर्दछन । त्यस्तै कलाकारहरूलाई पनि काम वा पढाइ छोडेर कार्यक्रमकै लागि यात्रा गर्न गाह्रो हुने गरेको छ । यस्ता कार्यक्रमहरूलाई प्रतिस्पर्धा भन्दा मनोरन्जनको रुपमा लिएर अवका दिनहरूमा डिजिटलरुपमै प्रारम्भिक छनोट कार्यक्रम गर्दा लुकेका प्रतिभाहरूलाई पनि अगाडी आउन प्रेरणा दिने सहभागी कलाकारहरूले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार