११९ औं साहित्य श्रृंखलामा ताराबहादुर बुढाथोकीको ‘बाउ’ सहित ३ कृति सार्वजनिक

  टोपबहादुर याक्खा

३० अप्रिल, हङकङ– कवि तथा साहित्यकार ताराबहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’ को ‘बाउ’ उपन्यास सहित ३ कृतिहरु सार्वजनिक तथा उक्त कृतिहरु माथि टिप्पणी तथा सृजनाहरु वाचन गर्दै आइतबार ११९ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संखुवासभाका कवि तथा साहित्यकार ताराबहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’ को पछिल्लो कृति ‘बाउ’ उपन्यास, त्यस्तै गरी बेलायतबाट प्रकाशित ‘बेलायती नेपाली डायास्पोरिक कविता’ कविता संग्रह र संखुवासभा समाज हङकङको मुखपत्र ‘हाम्रो संखुवासभा’ सार्वजनिक गरिएको थियो । ‘बाउ’ उपन्यास तथा ‘हाम्रो संखुवासभा’ मुखपत्र माथि श्रृंखलाका संरक्षक तथा साहित्यकार एवं मुखपत्रका सम्पादक समेत रहेका दाजु गुरुङले टिप्पणी राखेका थिए भने ‘बेलायती नेपाली डायास्पोरिक कविता’ कविता संग्रह माथि उक्त संग्रहका सम्पादक समेत रहेका कवि देवेन्द्र खेरेसले टिप्पणी राखेक थिए ।
जोर्डनस्थित गोर्खा क्लब एण्ड रेष्टुरेण्टमा आयोजित श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु सुनिता गिरी, नारायण प्यासी, लालबहादुर गुरुङ, जानु काम्बाङ लिम्बु, नारायण भण्डारी, डोम राना, सरिता भटृराई, लिला निरौला ढुङ्गाना लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए भने श्रृंखलाका सल्लाहकार तथा पुर्व सह–संयोजक समेत रहेका कवि तथा चित्रकार दिपेन्द्र राईले आफ्नो चित्र सार्वजिनक गर्दै उक्त चित्र माथि बोलेका थिए । त्यस्तै गरी कवि तथा गायीका बिन्नि लामालेकुन्ति मोक्तानको गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको साहित्य श्रृंखलाले आगामी अगष्ट महिनामा १० औं वार्षिकोत्सव मनाउनुका साथै हङकङबासी साहित्यकारहरुको सृजनाहरु समेटेर ‘श्रृंखला–६’ कृति समेत प्रकाशन गरी विमोचन गर्न गइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार