राजनीतिक सारथि थिइन् सीता…..

काठमाडौँ — गत बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको ६९औं जन्मदिन मनाइएको थियो । वैशाख २७ मा वैवाहिक वर्षगाँठ थियो । यी दुवै अवसरमा सयौँ शुभचिन्तकले शुभकामना टक्र्याएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिनको अवसरमा स्वास्थ्यलाभको कामना गर्दै सानो कार्यक्रम गरिएको थियो । सबैको कामना थियो, सीता दाहालको स्वास्थ्यलाभ । दाहालले जन्मदिनमा केक खुवाएका थिए भने वैवाहिक वर्षगाँठमा दाहालले सीतालाई चुम्बन गरेर माया साटेका थिए । सँगै जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउने यो नै अन्तिम अवसर बन्यो दाहालका लागि । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य सुधार भइरहेको थिएन । त्यही रोगका कारण लामो समय ओछ्यान परेकी उनको बुधबार बिहान निधन भएको छ । २०७६ कोराना महामारी भइरहेको बेला प्रधानमन्त्री दाहालले कान्तिपुरसँग भनेका थिए, ‘सीता म्याडमको स्वास्थ्य अवस्थालाई हेर्दा म मानसिक रूपमा तयार छु ।’ उनको संकेत थियो अब सीताको स्वास्थ्य सुधार हुँदैन । जतिबेला जे पनि हुन सक्छ । इकान्तिपुरलाई यो बताएको चार वर्षसम्म सीताले दाहाललाई साथ दिइन् । अब भने उनी सदाका लागि बिदा भएकी छन् । प्रधानन्त्री दाहालले पत्नी मात्रै होइन, जीवनकै ‘प्रमुख सल्लाहकार’समेत गुमाएका छन् । २०७४ मा छोरा प्रकाशको अल्पायुमै निधन भएपछि सीताको स्वास्थ्य झन् कमजोर हुँदै गएको थियो । बुवाको पदचाप पछ्याउँदै अघि बढेका प्रकाशको निधनले उनीमाथि बज्रपात भएको थियो । बुवाको सफलतापछि प्रकाशलाई राजनीतिमा अघि बढाउने सीताको सपना थियो । जुन साढे पाँच वर्षअघि अवसान भइसकेको छ । सीता कम बोल्ने सरल र सौम्य स्वभावकी थिइन् । कम बोल्ने तर पार्टी र नेतृत्वको हितमा बोल्ने उनको बानीले नेता तथा कार्यकर्तालाई गहिरो प्रभाव पारेको छ । माओवादी उपाध्यक्ष पम्फा भुसालले सीता जहिले पनि पार्टीको हितमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एउटा इतिहास कोरेर गएको बताइन् । ‘पार्टीको सार्वजनिक राजनीतिमा त्यति आउनु भएन । तर के गर्दा पार्टीको हित हुन्छ भन्ने उहाँले ठूलो योगदान दिनुभएको छ’ उनले भनिन्, ‘उहाँ अध्यक्ष प्रचण्डको जीवनसाथी मात्र होइन, राजनीतिक सारथी पनि हो । प्रचण्डको खास सल्लाहकार उहाँ नै हो । सीताको सहयोगबिना करिब साढे तीन दशकदेखि पार्टी नेतृत्वमा रहन दाहाललाई सम्भव थिएन । औपचारिक शिक्षा सामान्य भए पनि उनले माओवादी आन्दोलनलाई यहाँसम्म ल्याइपुर्‍याउन ठूलो भूमिका खेलेकी थिइन् । दाहालको राजनीतिक जीवनको सुरुवाती चरणमा उनले चार छोराछोरी हुर्काउँदै अघि बढेकी थिइन् । माओवादीले सशस्त्र युद्ध सुरु गर्दा उनी दाहालसँगै हिँडेकी थिइन् । पार्टीमा अन्तरसंघर्ष चर्को हुँदा सीताले दाहाललाई सम्झाएकी थिइन् । ‘पार्टीमा अन्तरसंघर्ष हुन्छ, झगडा हुन्छ । सम्हालेर जानुपर्छ,’ उनले दाहाललाई सम्झाउँथिन् । २०६१ मा दाहाल र बाबुराम भट्टराईबीच अन्तरसंघर्षले चरम रूप लिएका बेला समाधानका लागि उनले पहल गरेकी थिइन्, जतिबेला भट्टराई रोल्पामा माओवादी सेनाको घेराबन्दीमा थिए । दाहालनिकट एक नेताले सीताको त्यतिबेलाको भूमिका यसरी सुनाए, ‘फरक विचार राखे पनि बाबुरामजी पनि माओवादी नै हो । जनसेनाले कारबाही गर्न सक्छन्, सुरक्षा गर्नुपर्छ ।’ त्यसपछि माओवादी सेनाले भट्टराईलाई सुरक्षा दिएर राखेका थिए । पूर्वमाओवादी नेतृ एवं सीताकी सहकर्मी हिसिला यमीले सीता सशक्त महिला भएको बताइन् । ‘जस्तोसुकै अवस्थालाई सामना गर्न सक्ने महिला हो,’ उनले भनिन्, ‘हामीले सशस्त्र युद्धमा सहकार्य गर्दा अन्तरसंघर्ष भए पनि मैत्रीपूर्ण सम्बन्ध रह्यो । सशस्त्र युद्धको बेला होस् या शान्तिपूर्ण राजनीतिमा दाहालले कहिल्यै शक्तिको दुरुपयोग नगरेको उपाध्यक्ष भुसालले बताउँछिन् । ‘सामान्य जीवनमा रहेर पार्टी राम्रो बनाउने ध्यान उहाँमा थियो,’ भुसालले भनिन्, ‘सीताले सैद्धान्तिक कुराभन्दा के गर्दा राम्रो हुन्छ व्यवहारिक सल्लाह दिनुहुन्थ्यो ।’ दाहालले पनि सशस्त्र युद्ध र शान्तिपूर्ण राजनीतिमा आएपछि अन्तिम सल्लाह सीताकै मान्दै आएका थिए । ‘अध्यक्ष कहिलेकाहीँ भावनामा बग्दा सीताले सही मार्गमा ल्याउनुहुन्थ्यो, किनकि उहाँको बुझाइ व्यवहारिक थियो,’ यमीको भनाइ छ । छोरा प्रकाश गुमाएको साढे पाँच वर्षपछि पत्नी सीताको निधनले प्रधानमन्त्री दाहाललाई अर्को बज्रपात थपिएको छ । शोकलाई शक्तिमा बदल्ने सिद्धान्त अँगालेका दाहाललाई फेरि पनि शक्ति आर्जन गर्ने क्षमता मिलोस् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार