२८ अप्रिल, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३१ औं श्रृंखलालाई ३१ औं पारिजात स्मृति विशेष मनाउदै ३ वटा कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा श्रृंखलाका संयोजक रमण गुरुङ, संरक्षक दाजु गुरुङ, सल्लाहकारहरु बज्र कुमार राई, सुनिता गिरी, पूर्णिमा शाह लगायतले साहित्यकार विष्णु कुमारी वाइवा ‘पारिजात’ को तस्विरमा माल्यापर्ण संगै फूल चढाएका थिए ।
कार्यक्रम संचालिका समेत रहेकी साहित्य श्रृंखलाकी सह–संयोजक अरुणा शर्माले पारिजातको संक्षिप्त जीवनी सुनाएकी थिइन भने साहित्य श्रृंखलाका सल्लाहकार बज्र कुमार राई र नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका उपाध्यक्ष समेत रहेका साहित्यकार देवेन्द्र खेरेसले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पारिजातले पुर्याउनु भएको महत्वपूर्ण योगदान बारे चर्चा गरेका थिए ।
दोस्रो चरणको कार्यक्रममा कवि गगन योक्पाङ्देनको पछिल्लो कविता संग्रह ‘केवाफुङ्को गीत’, साहित्यकार तथा ईतिहासविद राजकुमार दिक्पालको खोजमुलक कृति ‘पृथ्वीनारायण शाह आलोचनात्मक इतिहास’, र संखुवासभा समाज हङकङको मुख–पत्र ‘हाम्रो संखुवासभा’ वर्ष–१८, अंक–१४ सार्वजनिक गरिएको थियो ।
याउ मा तेईस्थित हिन्सको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु नारायण भण्डारी, नरजित राई, सुनिता गिरी, पूर्णिमा शाह, रमण गुरुङ, रोशन यक्सो, अरुणा शर्मा, बज्र कुमार राई लगायतले पारिजात संग सम्बन्धित तथा अन्य सृजनाहरु वाचन गरेका थिए भने श्रृंखलाका संरक्षक दाजु गुरुङले सार्वजनिक कृतिहरु तथा कार्यक्रममा वाचित सृजनाहरु संग्र समग्र कार्यक्रमहरु माथि टिप्पणी राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।