१२४ औं साहित्य श्रृंखलामा दुई कृतिहरु सार्वजनिक संगै ‘शृङ्खला–६’ माथि समीक्षा

  टोपबहादुर याक्खा

२४ सेप्टेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा प्रकाशित ‘शृङ्खला–६’ पुस्तकमाथि समीक्षा, सृजना वाचन तथा हङकङ बाहिरबाट प्रकाशित दुई कृतिहरु सार्वजनिक गर्दै आइतबार १२४ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संरक्षक दाजु गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार देवेन्द्र खेरेसले हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा गत महिना सम्पन्न ११ वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रकाशित ‘शृङ्खला–६’ पुस्तक संगै समग्र कार्यक्रम बारे समीक्षा राखेका थिए ।
याउ मा तेई स्थित हिन्सको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा हाल दक्षिण कोरियामा रहेका साहित्यकार विनेश राई ‘मिन्जाई’ को गजल संग्रह ‘‘आगो टेक्छ योद्धा’ र अर्का नेपाल निवासी साहित्यकार बालकृष्ण माबुहाङको ‘इःमानु निःमा’ नियात्रा सार्वजनिक समेत गरिएको थियो । सोही क्रममा साहित्यकार तथा चित्रकार दिपेन्द्र राईले टेराकोटा सैनिकको स्केच सार्वजनिक गर्दै चीनमा रहेको टेराकोटा सैनिकको मूर्ति तथा त्यस बारेको आश्चर्यजनक ईतिहास बताएका थिए ।
साहित्यकार रोशन यक्सोद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु नारायण भण्डारी, नरेन्द्र गुरुङ, अन्ना रानी, रोशन यक्सो लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए भने सार्वजनिक गरिएका दुई कृति तथा वाचन गरिएका सृजनाहरु सहित समग्र कार्यक्रमबारे श्रृंखलाका संरक्षक दाजु गुरुङले छोटो टिप्पणी राखेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङ र सह–संयोजक अरुणा शर्मा व्यक्तिगत काम विशेषले हाल नेपाल भ्रमणका क्रममा रहेता पनि विगतमा झै साहित्य श्रंखलालाई निरन्तरता दिइदै आएको छ ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको साहित्य श्रृंखलाले गत अगष्ट महिनामा ११ औं वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै हङकङबासी साहित्यकारहरुको सृजनाहरु समेटेर ‘श्रृंखला–६’ कृति समेत प्रकाशन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार