सुदूरपश्चिममा ओली र रावल पक्षबीच रस्साकसी…..

धनगढी — नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु भएदेखि अध्यक्ष केपी ओली समर्थित प्रदेशका शीर्ष नेता लेखराज भट्ट, कर्णबहादुर थापा र दामोदर भण्डारीले बेग्लाबेग्लै उम्मेदवार खडा गरेका थिए । भीम रावल समर्थित समूह भने ‘पर्ख र हेर’ को रणनीतिमा थियो । एकाएक मंगलबार साँझ थापा–भण्डारी समूह एक ठाउँमा आएर साझा उम्मेदवार तय गरेपछि परिस्थिति मोडिएको छ । थापाले अघि सारेका उम्मेदवार कृष्णप्रसाद जैशीलाई भण्डारी समूहले समर्थन गर्ने र भण्डारी समूहले अघि सारेका कमल तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराएर अन्य पदाधिकारी भण्डारी समूहले लिने समझदारी बनेको थियो । अधिवेशनमा प्रभावी बनेको थापा र भण्डारी समूह एक ठाउँमा उभिनेबित्तिकै प्रतिनिधि संख्यामा पनि स्वतः उनीहरूको वर्चस्व कायम हुने देखिएको थियो । त्यसपछि भट्टले अध्यक्ष पदमा अघि बढाएका बचनबहादुर सिंहलाई बुधबार अन्तिम समयमा उम्मेदवारी फिर्ता गर्न लगाएका थिए । यसरी भट्ट, थापा र भण्डारी एकै ठाउँमा आइपुगेका छन् । उक्त समझदारी बन्नुमा भीम रावल फ्याक्टर प्रमुख थियो । थापा र भण्डारी दुवै पक्षले आफूले अघि सारेका उम्मेदवारलाई जसरी पनि अध्यक्ष बनाउने रणनीति लिएकाले थापा र भीम रावल समर्थित प्रतिनिधि चुनावी नतिजाका लागि नजिकिने अवस्था बन्यो । रावल समर्थित प्रतिनिधिले थापाले अघि सारेका उम्मेदवारलाई सघाउने र पदाधिकारी तहमा आफ्नो समूहबाट दुई जनालाई निर्वाचित गर्नेसम्मको समझदारी बनेको चर्चा सार्वजनिक भएपछि अध्यक्ष ओलीले नै कडाइ गरेर भण्डारी र थापालाई एक ठाउँमा आउन दबाब दिएको अधिवेशनस्थलमा रहेका प्रतिनिधिले बताए । स्थायी कमिटी सदस्य थापाले एक महिनाअघिदेखि नै कृष्णप्रसाद जैशीलाई अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि बढाएका थिए । तर तिमिल्सिनाको उम्मेदवारी भने अधिवेशनको एक साताअघि मात्रै सार्वजनिक भएको थियो । यता, उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले ‘कसैले पनि व्यक्तिगत उम्मेदवार नबनाउन र सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न’ भनेका थिए । नेता कार्यकर्ताले अध्यक्ष ओलीको उक्त अभिव्यक्ति थापाप्रति लक्षित रहेको अर्थ्याएका थिए । कुनै समय ओलीका दाहिने हात मानिने थापा पछिल्लो समय ओलीबाट टाढिएका छन् । पछिल्लो पटक थापाले एउटै व्यक्ति सधैंभर अध्यक्ष भइरहन नमिल्ने टिप्पणी सार्वजनिक रूपमै गरेपछि उनी पूर्वराष्ट्रपति विद्या भण्डारी निकट पुगेको धेरैको अनुमान छ । नेता रावललाई आफ्नै प्रदेशको अधिवेशनमा समेत नबोलाइएको भन्दै उनी समर्थित कार्यकर्ताहरू रुष्ट छन् । ओलीले उद्घाटन मन्तव्य व्यक्त गर्दै गर्दा रावल समर्थितले फ्लोरबाट ‘रावल खोइ’ भन्दै हुटिङ गरेका थिए । तर ओलीले जवाफ दिएनन् । यस अवस्थामा थापा र रावल समर्थित कार्यकर्ताको चुनावी मिलनले विपरीत नतिजा आउन सक्ने सम्भावनालाई आकलन गर्दै स्वयं ओली र उनी पक्षधर नेता सशंकित भएका छन् । केन्द्रकै दबाबमा थापा र भण्डारी एक ठाउँमा उभिन बाध्य भएपछि रावल समर्थित कार्यकर्तालाई अलग राख्न सकिने अवस्था उत्पन्न भएको रावल निकट एक कार्यकर्ताले बताए । आफ्नो समूहलाई पूर्ण रूपमा किनारा लगाउने प्रयास भएको भन्दै रावल समर्थकले अध्यक्ष पदमा उम्मेदवारी कायम राखेका भरत साउदसहित सचिव र उपसचिव पदका उम्मेदवारलाई समर्थन गरेर प्यानल नै मतदानमा जाने तयारी गरेको थियो । यता जसरी पनि सर्वसम्मत कमिटी चयन गर्ने कसरत गरेको ओली समूहलाई रावल निकट उम्मेदवारले उम्मेदवारी कायमै राखेपछि भने अर्को मोड लियो । रावल निकट सचिव पदका उम्मेदवार रतन रेग्मीले भने, ‘मनपरी गर्न खोज्नेविरुद्ध हाम्रो उम्मेदवारी हो । सबैलाई मिलाएर लिइएन भने एक मत भए पनि मतदानमा जान्छौं । अहिलेलाई हाम्रा दुई जनालाई उपसचिव पदमा निर्विरोध गराइयो भने हामी मान्छौं । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार